रसुवा बाढीपीडितका लागि सूर्य नेपालका श्रमीकले गरे दुई लाख २७ हजार सहयोग


eShilalekh

१७ भाद्र २०८३, बुधबार १७:१०

सिमरा: बाराको सिमरास्थित सूर्य नेपाल प्रालिमा कार्यरत श्रमिक मजदुरहरूले रसुवा बाढी प्रभावितका लागि आफ्नो एक दिनको तलब बराबरको रकम सहयोग गरेका छन् । नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन र समग्र उद्योग ट्रेड युनियनमा आबद्ध श्रमिकहरूले दुई लाख २७ हजार ६ सय ५५ रुपैयाँ सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।

मजदुर नेताहरूले जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीलाई रकम जम्मा गरिएको बैङ्क भौचर हस्तान्तरण गरेका थिए । नगर उपप्रमुख अधिकारीले देश शोक र विपद्को अवस्थामा रहेका बेला आफ्नो पसिनाको कमाइबाट श्रमिकहरूले गरेको यो योगदान अत्यन्तै प्रशंसनीय र अनुकरणीय रहेको बताए ।

श्रमजीवी वर्गको यो सहयोगले रसुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुग्ने विश्वास मजदुर प्रतिनिधिहरूले व्यक्त गरेका छन् । सूर्य नेपाल प्रालिले भने यसअघि नै १५ करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्