रसुवाका बाढीपीडितका लागि जीतपुरसिमरा उद्योग वाणिज्य संघद्वारा ३५ प्रकारका राहत सामग्री हस्तान्तरण

सिमरा: तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले संकलन गरेको राहत सामग्री बुधबार हस्तान्तरण गरेको छ ।
संघको पहलमा संकलन गरिएका ३५ प्रकारका खाद्य तथा अन्य अति आवश्यक राहत सामग्री नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यलाई हस्तान्तरण गरिएको हो । काठमाडौंको टेकुस्थित महासंघको कार्यालय पुगेर हस्तान्तरण गरिएको उक्त सामग्री महासंघमार्फत नेपाल सरकारलाई बुझाइनेछ ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र गुप्ता, वाणिज्य सचिव रिता कंडेल र कोषाध्यक्ष रिना रौनियार पुरीको उपस्थिति रहेको थियो । उद्योगी, व्यवसायी र स्थानीयको सहभागितामा जीतपुरसिमरा क्षेत्रमा संकलन गरिएको उक्त सामग्री मंगलबार साँझ काठमाडौं पठाइएको थियो ।
बाढीपीडितका लागि स्थानीय स्तरबाट खाद्यान्न तथा पेय पदार्थतर्फ चाउचाउ १६८ कार्टुन, पानी ५२ कार्टुन, चामल ३१ बोरा, भुजा २३ बोरा, चिउरा १७ बोरा, बिस्कुट ११ कार्टुन, दालमोठ तीन बोरा, आलु दुई बोरा, तेल दुई कार्टुन, दाल एक बोरा, मस्यौरा पाँच बोरा, नुन, पिठो, बिस्कुट, मटर चना, लत्ताकपडातर्फ बच्चाको कपडा पाँच बोरा, महिलाको कुर्ता सुरुवाल चार बोरा, महिलाको टिसर्ट दुई बोरा, साडी दुई बोरा, जिन्स पाइन्ट दुई बोरा, विन्डचिटर एक बोरा, पुरुषको कपडा एक बोरा, चप्पल तीन बोरा, सरसफाइ तथा घरायसी सामानतर्फ साबुन तीन पेटी, प्याड र डाइपर दुई बोरा, कोलगेट एक कार्टुन, साबुन, ब्रस, पेस्ट, हार्पिक, भाडाबर्तन दुई बोरा र गुन्द्री/त्रिपाल एक बोरा संकलन भएको थियो ।
विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकलाई तत्काल राहत र सहयोग पुगोस् भन्ने उद्देश्यले उद्योगी, व्यवसायी र स्थानीय युवाहरूको सहकार्यमा सामग्री संकलन गरी हस्तान्तरण गरिएको संघका अध्यक्ष गुप्ताले बताए ।







