जसपा पर्सा अध्यक्ष तबरेज अहमद नेपाली कांग्रेसमा प्रवेश


eShilalekh

१ आश्विन २०८३, बिहीबार १७:०६

वीरगन्जः जनता समाजवादी पार्टी (जसपा) का पर्सा जिल्ला अध्यक्ष तबरेज अहमद नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बिहीबार वीरगन्जमा भएको एक कार्यक्रमका बीच उनले जसपा छाडेर कांग्रेस रोजेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले अहमदलाई पार्टीमा स्वागत गरे । पूर्वमन्त्री समेत रहेका रिजालले अहमदको आगमनले पर्सा क्षेत्र नम्बर ४ मा कांग्रेस अझ बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

जसपा छाडेर कांग्रेस रोजेका अहमद राष्ट्रिय भूमि समस्या समाधान आयोग पर्साका पूर्व अध्यक्ष हुन् । मधेस आन्दोलनदेखि मधेस केन्द्रीत दलमा सक्रिय रहेका उनले यसअघि जसपा नेपालको जिल्ला सचिवको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

पार्टी प्रवेशपछि बोल्दै अहमदले मधेस आन्दोलनबाट पाएका संघीयता र लोकतन्त्र जस्ता उपलब्धि जोगाउने काम कांग्रेसले मात्र गर्न सक्ने दाबी गरे । देशले युवा नेतृत्व खोजिरहेको र कांग्रेस त्यसतर्फ अघि बढेकाले आफूले यो बाटो रोजेको उनको भनाइ थियो ।

कांग्रेसका क्षेत्रीय सभापति श्रीकान्तप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका वनमन्त्री शंकर चौधरी, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेलगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्