सर्लाही: अश्लील भिडियो देखाएर ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ

सर्लाही: सर्लाहीमा अश्लील तस्बिर तथा भिडियो देखाएर महिलालाई धम्क्याउने र पैसा असुल्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बसबरिया गाउँपालिका–३ का शिवचरण मुखिया रहेका छन् ।
प्रारम्भिक अनुसन्धानबाट मुखियाले चिनजानको सम्बन्ध र विश्वासको फाइदा उठाउँदै ह्वाट्सएपमा भिडियो कलमार्फत अश्लील कुराकानी गर्न बाध्य पार्ने र त्यसलाई गोप्य रूपमा रेकर्ड गर्ने गरेको खुलेको छ ।
सोही रेकर्ड गरिएको भिडियो तथा तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्ने र परिवारका सदस्य तथा आफन्तलाई पठाउने धम्की दिँदै उनले पीडितबाट ५० हजार रुपैयाँ मागेको प्रहरीमा जाहेरी दर्ता भएको छ ।
पक्राउ परेका मुखियामाथि विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराध मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
साथै प्रहरीले डिजिटल माध्यमबाट ब्ल्याकमेलिङ वा दुर्व्यवहारका घटना भोगेका जो कसैले पनि डराउन नहुने भन्दै च्याट, कल डिटेल्स, तस्बिर र भिडियोजस्ता डिजिटल प्रमाणहरू सुरक्षित राखेर तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अपिल गरेको छ ।







