रास्वपाको केन्द्रीय उम्मेदवार छनोट समितिमा बारा-४ का सांसद रहबर अन्सारी मनोनीत


eShilalekh

१८ आश्विन २०८३, आईतवार १४:४६

सिमराः बारा क्षेत्र नं. ४ का सांसद रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय उम्मेदवार छनोट समितिको सदस्यमा मनोनित भएका छन् । सभापति रवी लामिछानेको सभापतित्वमा बसेको बैठकले महामन्त्री विपिन आचार्यको नेतृत्वमा समिति गठन गर्दै अन्सारीलाई सदस्य मनोनित गरेको हो ।

समितिमा अन्सारीसँगै तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, मिलन लिम्बू, सुशान्त वैदिक, टासी ल्हाजोम र जनक सिंह धामी पनि सदस्य छन् । समितिमा पार्टीका सातै प्रदेशका सभापतिहरू पदेन सदस्य रहनेछन् ।

यसैगरी बैठकले रास्वपाका सहमहामन्त्री हरि ढकाल संयोजकत्वको कार्यदलले मधेस प्रदेश संगठनको समस्या तथा समाधानसम्बन्धी तयार पारेको विस्तृत अडिट प्रतिवेदन सभापति लामिछानेलाई बुझाएको छ । उक्त प्रतिवेदनको अध्ययनपछि पार्टीले मधेस प्रदेशमा आवश्यक सांगठनिक कदम चाल्ने निर्णय गरेको छ ।

यता रास्वपाको स्थानीय तह निर्वाचन केन्द्रीत अभियान असोज २० गतेदेखि सुरु हुँदैछ । रास्वपाले देशको सबै स्थानीय तहमा आफ्ना नेतालाई पठाउँदैछ । अभियानका लागि बारामा पूर्वमन्त्री बब्लु गुप्ता, दीपककुमार साह र प्रकाश गौतम आउँदैछन् ।

उनीहरुले स्थानीय तहमा पुगेर नागरिकहरूसँग उम्मेदवार छनोटको लोकतान्त्रिक विधिबारे छलफल गर्ने, पार्टीका आगामी योजना सार्वजनिक गर्ने र स्थानीय नेतृत्व चयनका विषयमा प्रत्यक्ष संवाद गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्