चन्द्राको ह्याट्रिकमा आर्मीको फराकिलो जित

सिमरा: जीतपुरसिमरा महिला फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सिमरा रंगशालामा सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले फराकिलो जित निकालेको छ । आर्मीले दार्जिलिङको कुर्सेङ गर्ल्स फुटबल एकेडेमीलाई ७-० को गोलअन्तरले पराजित गरेको हो ।
एकपक्षीय जीत दर्ता गर्दै सेमिफाइनल प्रवेश गर्ने क्रममा आर्मीकी चन्द्रा भण्डारीले सानदार ह्याट्रिक प्रहार गरिन् । खेलको पहिलो हाफदेखि नै दबाब बनाएको आर्मीले लगातार गोलको वर्षा गरेको थियो ।
पहिलो हाफमा सुक्रिया मियाले दुई तथा तुलसा बोहोरा र चन्द्रा भण्डारीले एक/एक गोल गर्दै आर्मीलाई बलियो स्थितिमा पुर्याएका थिए । दोस्रो हाफमा पनि आफ्नो दबदबा कायम राख्दै चन्द्रा भण्डारीले थप दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् । यसैबीच दार्जिलिङकी खेलाडी कृतिका राईबाट आत्मघाती (ओन गोल) हुन पुग्दा आर्मीले ७-० को फराकिलो जित सुनिश्चित गर्यो ।
चन्द्रा प्लेयर अफ दि म्याच घोषित भइन् । उनले पाँच हजार नगद प्राप्त गरिन् ।
प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा मंगलबार साविक विजेता सशस्त्र प्रहरीको एपीएफ क्लब र भारतको झारखण्ड स्टेट स्पोर्ट्स प्रोमोसन सोसाइटी राँची भिड्नेछन् ।







