धनुषा: आफ्नै घरभित्र महिला मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान जारी

जनकपुरधामः धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। स्थानीय विनोद दासकी २० वर्षीया पत्नी प्रियंका दास आफ्नै घरको ओछ्यानमा मृत फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ प्रियंका आफ्नै सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा देखिएपछि उनका श्रीमान् विनोदले पासो खोली शवलाई ओछ्यानमा राखेका थिए।
घटनाको जानकारी पाएसँगै प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरी टोलीले घटनास्थललाई सुरक्षित गरेको थियो। तर मृतकका आफन्त र स्थानीयवासीले यो आत्महत्या नभई हत्या भएको दाबी गर्दै अबेर रातिसम्म घरअगाडि प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजी र प्रदर्शन गरेका थिए।
यसैबीच जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले प्रहरीले घटनास्थल पुगी शवको मुचुल्का उठाउने काम गरिरहेको जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान तथा प्रारम्भिक सोधपुछका निम्ति मृतकका श्रीमान् विनोद दासलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।







