सिमरामा कृषी विकास वैंकको एटिएम सेवा सुरु


eShilalekh

१९ जेष्ठ २०७९, बिहीबार २०:४५

सिमराः कृषी विकास वैंकले सिमरामा आफ्नो एटिएम सेवा सुरु गरेको छ । स्थापनाको झण्डै तीन दशकपछि वैंकले एटिएम सेवा सुरु गरेको हो ।

एटिएम सेवाको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी र वैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उद्घाटन गरेका हुन् । वैंकको एटिएम सेवा सिमराको मुख्य चोकमा रहेको छ ।

एटिएम सेवा उद्घाटनपछि वैंकको कार्यालयमा आयोजित कार्यक्रममा उपप्रमुख अधिकारी र कार्यकारी अधिकृत उपाध्यायले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख अधिकारीले सेवाग्राहीको सहजताका लागि वैंकले सेवा थप गरेकोमा खुशी व्यक्त गरे ।

उपप्रमुख अधिकारीले उपमहानगरपालिका र वैंकबीच सहकार्य गरी कृषक र किसान लक्षित कार्यक्रम संचालन गर्न सकिने बताए । आफूले भर्खरै उपमहानगरपालिकाको जिम्मेवारी सम्हालेको बताउदै अधिकारीले कृषी क्षेत्र र किसानलाई सहयोग पुग्ने गरी कार्यक्रम अघि बढाउन वैंकसंग सहकार्य गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा वैंकका कार्यकारी अधिकृत उपाध्यायले कृषी विकास वैंकले आफ्नो सेवा फराकिलो बनाउदै लगेको बताएका छन् । कृषी र किसान लक्षित सेवासंगै वैंकले पछिल्लो समय अन्य क्षेत्रमा पनि लगानी थालेको बताए । ‘कृषीसंगै हामीले हाम्रो सेवा फराकिलो बनाउदै लगेका छौ’ उपाध्यायले भने ‘यो बैंकले दिने सेवा अब हरेका क्षेत्रका नागरिकले प्राप्त गर्न सकुन भन्ने हाम्रो उदेश्य हो ।’

कृषीसंगै अन्य व्यवसाय गर्ने सेवाग्राही कृषीबाहेक अन्य कामका लागि अन्यत्र जान पर्ने स्थितीको अन्त्य गर्नका निम्ति पनि बैंकले आफ्नो सेवा फराकिलो बनाउदै लगेको प्रमुख कार्यकारी अधिकृत उपाध्यायको भनाई थियो । सोही अवसरमा उपाध्यायले उद्योगी, व्यवसायी, सहकारीकर्मीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वसंग सेवाको प्रभावकारीका विषयमा छलफल गरेका थिए ।

कार्यक्रममा बैंकका उपमहाप्रवन्धक बाबुकाजी थापा, वीरगन्जस्थित प्रदेश कार्यालयका निर्देशक नारायण आचार्य, सिमरा शाखाका प्रवन्धक राजु साह, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, सेवाग्राहीको उपस्थिती रहेको थियो ।

२०५० साल माघ ७ गते सिमरामा कृषी विकास बैंकको स्थापना भएको हो । स्थापनापछि बैंकले निरन्तर सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्