पर्सामा चाँदीका विभिन्न गहना तथा सामानसहित दुई जना पक्राउ


eShilalekh

१७ कार्तिक २०८३, मंगलवार १७:०३

वीरगन्जः प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका-२५ स्थित सिर्सिया चेकपोस्टबाट चाँदीका विभिन्न गहना तथा सामानसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला बारा करैयामाई गाउँपालिका-८ घर भई हाल वीरगन्ज महानगरपालिका-१६ नगवाका अन्दाजी ३६ वर्षीय रामप्रकाश सराफ र गढीमाई गाउँपालिका-५ घर भई हाल वीरगन्ज-१६ का अन्दाजी ३९ वर्षीय कृष्ण सहनी रहेका छन्।

इलाका प्रहरी कार्यालय छपकैयाबाट प्रहरी सहायक निरीक्षक भोगेन्द्र खत्रीको नेतृत्वमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर-०५-बीके-४४१७ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो।

जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूको साथबाट २७.७० तोला चाँदीका विभिन्न गहना तथा सामान फेला परेको प्रहरीले जनाएको छ।

बरामद सामानसहित पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्