अपाङ्गता मैत्री भाषामा जोड दिन सञ्चारकर्मीका लागि अभिमुखीकरण, सिमरा घोषणापत्र जारी

सिमराः बाराको सिमरामा मंगलबार सञ्चारकर्मीहरूका लागि अपाङ्गतासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरूका सवालमा सञ्चारमाध्यमबाट समाचार सम्प्रेषण गर्दा मर्यादित भाषाको प्रयोगलाई जोड दिन नेत्रहीन युवा संघ नेपालले कार्यक्रम आयोजना गरेको हो ।
सीबीएम ग्लोबल डिसेबिलिटी इन्क्लुजनको सहयोगमा आयोजित कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा अपाङ्गताका विभिन्न प्रकार, तिनको सही पहिचान र कस्तो अपाङ्गता भएका व्यक्तिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा अन्तरक्रिया गरिएको थियो ।
सञ्चारमाध्यममा अन्जानवश प्रयोग हुने गलत शब्दले अपाङ्गता भएका व्यक्तिहरूको आत्मसम्मानमा पुर्याउने चोट र समाजमा पर्ने नकारात्मक असरबारे सहभागीहरूलाई जानकारी गराइएको थियो । संघकी कार्यक्रम निर्देशक निलु महर्जनले समाचार लेख्दा प्रयोग गरिने भाषाले समाजको सोच निर्माणमा ठूलो भूमिका खेल्ने भएकाले अपाङ्गताका सवालमा संवेदनशील र मैत्रीपूर्ण भाषा प्रयोग गर्न आग्रह गरेकी थिइन् ।

महर्जनले अभिमुखीकरणको मुख्य उद्देश्य सञ्चारकर्मीहरूलाई अपाङ्गतासम्बन्धी समाचार तयार पार्दा शब्द चयनमा सहजता ल्याउनु र समाचारलाई थप समावेशी एवम् प्रभावकारी बनाउनु रहेको बताइन् । उनले अपाङ्गता भएका व्यक्तिहरूलाई दया वा सहानुभूति भन्दा पनि उनीहरूको अधिकार र समावेशी पहुँचका दृष्टिकोणले सञ्चारमाध्यममा स्थान दिन उनले आग्रह गरिन् ।
कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले समाचारमा प्रयोग हुने भाषाको निकै महत्त्व रहने र यसले समाजमा प्रत्यक्ष प्रभाव पार्ने बताए । उनले सञ्चारमाध्यममा गलत शब्द प्रयोग हुँदा आम नागरिकले पनि तिनै शब्द अपनाउने सम्भावना रहने र त्यसले अपाङ्गता भएका व्यक्तिहरूलाई ठेस पुग्नुका साथै अनादरको महसुस गराउन सक्ने धारणा राखे ।

उपप्रमुख अधिकारीले अपाङ्गता भएका व्यक्तिका समस्या केवल उजागर मात्र नगरी सम्बन्धित निकायलाई खबरदारी गर्ने गरी समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडाले प्रेस काउन्सिल नेपालद्वारा अपाङ्गता भएका व्यक्तिका समाचारमा प्रयोग हुने भाषाका विषयमा जारी गरिएका आचारसंहिताको विषयमा व्याख्या गरेका थिए । अन्तरक्रियापछि कार्यक्रमका सहभागीले ‘सिमरा घोषणापत्र’ मा हस्ताक्षर गरेका छन् ।





