जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघमा १९ पदका लागि ५४ जनाको उम्मेदवारी


eShilalekh

३१ जेष्ठ २०७९, मंगलवार २१:३१

सिमराः जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको १९ पदका लागि ५४ जनाले मनोनयन दर्ता गराएका छन् । असार ११ गते हुने निर्वाचनको कार्यतालिका अनुसार उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

संघको अध्यक्षका लागि मोहनप्रसाद शर्माको एकल उम्मेदवारी परेको छ । संघको विधानमा बरिष्ठ उपाध्यक्षले मात्रै अध्यक्षमा उम्मेदवारी दिन सकिने प्रावधान रहेकाले शर्माको मात्रै उम्मेदवारी परेको हो ।

यसअघि बरिष्ठ उपाध्यक्ष रहेका शर्माको एकल उम्मेदवारी परेसंगै संघको अध्यक्षमा उनि निर्वाचित हुने निश्चित छ । संघको बरिष्ठ उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा मनोज कुमार गुप्ता, रामचन्द्र पौडेल, ओमप्रकाश गुप्ता, अनिलकुमार साह र दिनेशप्रसाद कलवार रहेका छन् ।

अध्यक्षबाहेक अन्य सात जना पदाधिकारीका लागि २५ जनाको उम्मेदवारी परेको छ । अध्यक्षसहित संघको पदाधिकारीमा बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष वाणिज्य, उपाध्यक्ष उद्योग, महासचिव, सचिव वाणिज्य र सचिव उद्योग पदमा एक–एक जना निर्वाचित हुनेछन् ।

एक जना निर्वाचित हुने वाणिज्यतर्फको उपाध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । वाणिज्यतर्फको उपाध्यक्षका लागि अर्जुन लम्साल, मोहन साह कलवार, रामनारायणप्रसाद साह, गजेन्द्रप्रसाद गुप्ता र सन्तोष गुप्ताले उम्मेदवारी दिएका हुन् । उद्योग उपाध्यक्षतर्फ दीपक गुप्ता, विजयकुमार साह र राजुराज गिरीले मनोनयन दर्ता गराएका छन् ।

संघको महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ । महासचिवका लागि अनिलकुमार तिवारी, लक्ष्मण अधिकारी र प्रकाश गिरीले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी कोषाध्यक्षमा रामबाबु कलवार र अमरप्रसाद यादवको उम्मेदवारी दर्ता भएको छ ।

संघको वाणिज्यतर्फको सचिवका लागि रमेशप्रसाद खरेल, गिताकुमारी शर्मा, श्यामबाबु साह, शान्ताकुमारी बजगाई (रिना), विष्णुप्रसाद अधिकारी र कृष्णप्रसाद साहको उम्मेदवारी परेको छ । वाणिज्यतर्फको सचिवमा ६ जनाको उम्मेदवारी दर्ता हुँदा उद्योगतर्फको सचिव भने निर्विरोध हुने भएका छन् । उद्योगतर्फ सचिवका लागि मुकेशप्रसाद साहको एकल उम्मेदवारी परेको छ ।

यता वाणिज्यतर्फको सात सदस्यका लागि २३ जनाको उम्मेदवारी परेको छ भने उद्योगतर्फको तीन सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ । एक जना निर्वाचित हुने एशोसियटतर्फको सदस्य पदमा भने कसैको उम्मेदवारी परेन ।

मनोनयन दर्ता भएसंगै संघको चुनावी चर्चा सुरु भएको छ । अध्यक्ष निर्विरोध भईसकेकाले बरिष्ठ उपाध्यक्षका उम्मेदवारमध्ये केहीको नेतृत्वमा छुट्टाछुटटै प्यानल बन्ने देखिन्छ । बरिष्ठ उपाध्यक्षका लागि मनोजकुमार गुप्ता, रामचन्द्र पौडेल र ओमप्रकाश गुप्ताको नाम चर्चामा छ । तर कोषाध्यक्षमा दुई जनाको मात्रै उम्मेदवारी परेकाले तीन वटा प्यानल हुने सम्भावना भने कम छ ।

तीन वर्षे कार्यकालका लागि असार ११ गते हुने निर्वाचनमा एक हजार तीन सय भन्दा बढी मतदाता सहभागी हुदैछन् । जेठ २५ गते सम्पन्न संघको दोस्रो अधिवेशन र तेस्रो साधारण सभाबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्