मिस्टर डी र शोभा त्रिपाठीको प्रस्तुतिमा रमे दर्शक


eShilalekh

५ भाद्र २०७९, आईतवार ०९:३४

पथलैयाः युवा पुस्तामाझ लोकप्रिय र्‍यापर मिस्टर डी (सन्दिप बिष्ट) शुक्रवार श्रीकृष्ण जन्माष्टमीको अवसरमा पथलैयामा आयोजित कार्यक्रममा प्रस्तुति दिन स्टेज उक्लदा रातीको १० बजिसकेको थियो । अत्यधिक गर्मीका कारण ढिला सुरु गरिएको कार्यक्रममा अन्य राष्ट्रिय र स्थानीय कलाकारको प्रस्ततिपछि मात्रै उनि स्टेज चढेका थिए ।

निकै अबेर स्टेज उक्लदा दर्शकको उपस्थिती पातलो हुन्छ कि भन्ने डर उनिसंगै आयोजकको मनमा पनि थियो । तर उनी स्टेज चढेपछि भने दर्शकको उपस्थिती झन बाक्लियो । उनकै प्रतिक्षा गरेर कार्यक्रम स्थल बाहिर बसेका दर्शक समेत भित्रिएपछि मन्दिर प्रांगणमा रहेको मैदान भरिभराउ हुन पुग्यो ।

सधैझै गाँउले बोलको गित गाउदै स्टेज चढेका मिस्टर डीले लगातार थुप्रै प्रस्तुति दिए । ‘बन्दै छ नेपाल’ ‘नाच बसन्ती’ लगायत आफ्नो चर्चित गित गाएका मिस्टर डीको नयाँ गित ‘ल है’ लाई समेत दर्शकले रुचाए । उनको प्रस्तुतिमा रमेका दर्शकलाई सम्हाल्न आयोजकलाई समेत हम्मेहम्मे परेको थियो ।

बर्षालाई समेत वेवास्था गर्दै सांगितीक प्रस्तुति दिएका उनले सामाजिक सन्देश दिदै समाज परिवर्तनका लागि युवाहरु जिम्मेवार हुनुपर्ने बताएका थिए । उनले युवाहरुलाई लागुऔषध प्रयोग नगर्न समेत सुझाएका थिए ।

कार्यक्रममा गायिका शोभा त्रिपाठीले तिजको गितसंगै अन्य प्रस्तुति दिएकी थिईन् । अस्मिता अधिकारीको गित ‘तिम्रो मायाले बाधेर राख’ बोलको गित गाएर प्रस्तुति सुरु गरेकी त्रिपाठीले कार्यक्रममा उपस्थित महिलाहरुलाई नचाएकी थिईन् । कार्यक्रममा गायक कल्याण आलेले ‘मेरो टोपी कैलाशको शिर जस्तो’ बोलको गितले दर्शकलाई झुमाए ।

स्थानीय युवाहरुको सांगीतिक समुह दि योङ नीति ब्याण्डले आयोजना गरेको कार्यक्रममा काठमाण्डौको विक्ड भिक्टिम्स ब्याण्ड, दि पनाम ब्याण्ड, ग्रुप अफ पथलैयाले प्रस्तुति दिएको थियो । आयोजकले पथलैयाको सांगीतिक र सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने दुई जनालाई सम्मान गरेको छ । जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलले स्थानीय शंकर आचार्य र राजकुमार डिमडुङलाई सम्मान गरेका थिए ।

प्रत्येक वर्षझै गोर्खा ब्रुअरी प्रालीले मुख्य प्रायोजन गरेको कार्यक्रममा युआर गोल्ड प्रिमियम मसाला चियालगायतले सहप्रायोजन गरेको छ । जन्माष्टमीको अवसरमा पथलैयामा सांगीतिक कार्यक्रम हुने गरेको छ । पछिल्लो दुई वर्ष भने कोरोनाको कारण कार्यक्रम हुन सकेको थिएन् ।

प्रतिक्रिया दिनुहोस्