सुमनको ठाँउमा सुमननै आए, टुंगियो निजगढको विवाद


eShilalekh

८ भाद्र २०७९, बुधबार १६:३३

सिमराः प्रमुख प्रशासकीय अधिकृत सरुवाको विषयलाई लिएर निजगढ नगरपालिकामा देखिएको विवाद अन्ततः समाधान भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुमनकुमार कार्कीलाई मन्त्रालय तान्दै सुमन धिताललाई नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएपछि नगरपालिकाको विवाद समाधान भएको हो ।

मन्त्रालयको निर्णयसंगै प्रमुख प्रशासकीय अधिकृत धितालले बुधवार निजगढ नगरपालिकामा हाजिर गरेका छन् । धिताललाई निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद देवकोटा, प्रशासन प्रमुख रविन घिमिरेलगायतका कर्मचारीले स्वागत गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत सरुवाको विषयलाई लिएर नगरपालिकाको कार्यालय करिब एक महिनादेखी कार्यालय प्रमुख विहिनताको अवस्थामा रहेको थियो । यसअघि प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका कार्कीले मन्त्रालयको सरुवा निर्णय उल्टाउदै पुनः थमौती पत्र लिएपछि नगरपालिकामा विवाद बढ्दै गएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन ११ गते प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई जिल्लाको पचरौता नगरपालिका सरुवा गर्दै मकवानपुरस्थित थाहा नगरपालिकामा कार्यरत हरिलाल पुरीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको थियो । मन्त्रालयको निर्णयसंगै साउन १३ गते पुरी निजगढमा हाजिर भएका थिए । तर सरुवा निर्णयले असन्तुष्ट कार्कीले राजनीतिक शक्ति प्रयोग गर्दै मन्त्रालयको निर्णय उल्टाएर केही दिनमा पुनः निजगढकै लागि थमौती लिएपछि विवाद चुलिन पुगेको थियो ।

पटकपटक मन्त्रालयको सरुवा रोकेका कारण विवादित बनेका कार्कीले चौथो पटकको सरुवा निर्णयलाई उल्टाएपछि नगर प्रमुख सुरथ पुरीले उनलाई हाजिर गर्न दिएनन् र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष नखोल्न निर्देशन दिएका थिए । मन्त्रालयको निर्णयअनुसार पुरीले हाजिर गरिसकेको अवस्थामा अर्को प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिन नमिल्ने भन्दै नगर प्रमुख पुरीले अडान लिएपछि नगरपालिकामा तालाबन्दीको स्थिती समेत भएको थियो ।

पुरीले कार्कीलाई हाजिर गर्न नदिने अडान नछाडेपछि गबन्धनबाट निर्वाचित जनप्रतिनिधिले नगर प्रमुख पुरी र उपप्रमुख सोममाया थिङको कार्यकक्षमै तालाबन्दी समेत गरेका थिए । तर नगर प्रमुख पुरीले भने मन्त्रालयले आफ्नै निर्णय कार्यान्यवन नगरेर केही दिनमै सरुवा निर्णय उल्टाएको र नगरपालिकालाई अस्थिर बनाउन खोजेको भन्दै निर्णय सच्याउन मन्त्रालयलाई ध्यानाकर्षण गराउदै आएका थिए ।

दुई वर्षदेखी कार्यरत कार्कीलाई पुनः हाजिर गराए नगरपालिकामा जनप्रतिनिधिबीचनै मनमुटाव हुने स्थिती देखेपछि नगर प्रमुख पुरीले निर्णय सच्याउन मन्त्रालयलाई अनुरोध गर्दै आएका थिए । यता कार्कीले भने पुनः हाजिर गर्ने वातावरण बनाउनका लागि गठबन्धन दलबाट निर्वाचित जनप्रतिनिधि र केही कर्मचारी समेत प्रयोग गरेका थिए ।

नगरपालिकामै कार्यरत एक महिला कर्मचारीले कार्कीको पक्ष लिदै नेकपा एमालेबाट निर्वाचित नगर प्रमुख पुरीलाई सहयोग गर्न नगरपालिका पुगेका एमाले कार्यकर्ता र समर्थकलाई गुण्डा भनेपछि जनप्रतिनिधि र कर्मचारीबीच आन्तरिक द्धन्द्धको स्थिती समेत बढ्दै गएको थियो ।

यो पनि पढ्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्