अनुमती नलिई शैक्षिक भ्रमणमा जान उपमहानगरको रोक


eShilalekh

८ भाद्र २०७९, बुधबार १७:५५

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद महाशाखाले कार्यालयको अनुमती नलिई शैक्षिक भ्रमण तथा अवलोकनमा जान रोक लगाएको छ ।

महाशाखाले बुधवार सूचना जारी गर्दै उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई शैक्षिक भ्रमण तथा अवलोकनमा जानुपर्ने भए अनुमति लिएर मात्रै जान अनुरोध गरेको हो ।

विद्यालय नै बन्द गरेर शैक्षिक भ्रमणमा जाने तर त्यसको जानकारी कार्यालयलाई समेत नहुँने हुँदा महाशाखाले भ्रमण तथा अवलोकन जान अनुमतिलाई अनिवार्य गरेको हो । शैक्षिक संस्थाले भ्रमण तथा अवलोकनमा जाँदा सम्बन्धित निकायलाई जानकारी नै नगराउने गरेको भन्दै जनगुनासो आउन थालेपछि अनुमति लिन आग्रह गरेको हो ।

महाशाखाले अब कार्यालयको अनुमति नलिई भ्रमण तथा अवलोकनमा गए त्यसको जिम्मेवारी प्रध्यानाध्यापकले लिनुपर्ने जनाएको छ । विद्यालय व्यवस्थापन समितिको निर्णय पेश गरी महाशाखाको अनुमति लिएर मात्रै भ्रमणमा जान कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् महाशाखाका प्रमुख शिवजी प्रसादद्धारा हस्ताक्षरित सूचनाले निर्देशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्