ल्याब निर्माणका लागि सहयोग जुटाउन विद्यार्थीको देउसी


eShilalekh

९ कार्तिक २०७९, बुधबार ०९:१९

सिमराः शैक्षिक पूर्वाधार निर्माणार्थ बारा पथलैयास्थित सामुदायिक विद्यालयका विद्यार्थीले देउसीभैलो कार्यक्रम आयोजना गरेका छन् । प्राविधिक शिक्षा अन्तर्गत इन्जिनियरिङ ल्याब निर्माणका लागि सहयोग जुटाउने उदेश्यले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीले देउसीभैलो कार्यक्रम आयोजना गरेका हुन् ।

विद्यालयको ब्यानरमा आयोजना भईरहेको देउसीभैलो कार्यक्रम लिएर विद्यार्थीहरु यतिबेला अभिभावकको आगनमा पुगिरहेका छन् । शैक्षिक क्षेत्रको विकासका लागि विद्यार्थीले देउसीभैलो कार्यक्रम सुरु गरेपछि अभिभावक समेत खुशी देखिन्छन् ।

तिहारको समयमा खेलिने देउसीभैलो कार्यक्रमलाई उदेश्यमुलक बनाउन देउसीभैलो कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रध्यानाध्यापक शम्भु मण्डलले जानकारी दिएका छन् । ‘तिहारको समयमा मनोरञ्जनका लागि देउसीभैलो खेलिने गरिन्छ’ मण्डलले भने ‘हामीले यही अवसरलाई सदुपयोग गर्दै विद्यालयको शैक्षिक विकासका लागि सहयोग जुटाउन देउसीभैलो सुरु गरेका हौं ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्याण आलेले शैक्षिक क्षेत्रको विकासका लागि आयोजना भईरहेको देउसीभैलो कार्यक्रमलाई सफल बनाउन आग्रह गरेका छन् ।

इच्छाको आगनमा विद्यार्थीको देउसी
लक्ष्मीपुजाको दिनदेखी देउसीभैलो कार्यक्रम सुरु गरेका विद्यार्थी मंगलवार सिमरास्थित इच्छा होटलको आगनमा पुगे । बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका वाग्लेले संचालन गरेको होटलमा देउसी खेल्न पुगेका विद्यार्थीलाई वाग्लेको परिवारसहित स्थानीयले हौसला थपेका थिए ।

देउसीभैलो कार्यक्रम लिएर पुगेका विद्यार्थीको प्रस्तुतिपछि संचालक वाग्लेले शैक्षिक स्तरको विकासका लागि विद्यार्थी सक्रियताको आफूले सम्मान गर्ने बताए । उनले शिक्षाको विकासपछि मात्रै अन्य क्षेत्रको विकासको परिकल्पना गर्न सकिने भन्दै उदेश्यमुलक देउसीभैलो कार्यक्रमलाई सफल बनाउन आफूले पनि सहयोग गर्ने प्रतिबद्धता दिए ।

कार्यक्रममा वाग्लेका सुपुत्र मुन्सनले युवा पुस्ता सक्रिय भएर लागे समाजलाई परिवर्तन गर्न सकिने बताए । विद्यार्थीको सक्रियताले आफू उत्साहित भएको बताउदै मुन्सनले उक्त ल्याब निर्माणका लागि आवश्यक उपकरण खरिद गर्न आफूले सहयोग गर्ने बताए ।

वडाध्यक्षले गरे सहयोगको प्रतिवद्धता
देउसीभैलो कार्यक्रमको सुरुवात जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ वडाध्यक्ष हिराबहादुर गुरुङको आगनबाट सुरु भएको थियो ।

लक्ष्मीपुजाको दिन विद्यार्थीले आयोजना गरेको देउसीभैलो कार्यक्रमलाई वडाध्यक्ष गुरुङले व्यक्तिगत मात्रै गरेनन् वडाको बजेटबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उनले आफ्नो कार्यकाल अवधीभर ल्याबका लागि आवश्यक सहयोगका लागि आफू पछि नहट्ने बताएका थिए ।

उक्त कार्यक्रममा पुगेर बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णकुमार श्रेष्ठ र ४(१) का प्रदेशसभा सदस्य उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्