संजिवको तेक्वान्दो जिवन


eShilalekh

१२ मंसिर २०७९, सोमबार २२:२२

सिमराः बारा निजगढ नगरपालिका ७ का संजिव नेपाली तेक्वान्दो खेल क्षेत्रमा परिचित नाम हो । उनि यस क्षेत्रमा परिचित मात्रै छैनन्, तेक्वान्दो खेलको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल खेलाडीका रुपमा चर्चित छन् ।

अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी भएर देशका लागि थुप्रै पदक जितेका संजिव नेपालको राष्ट्रिय झण्डा विदेशमा फहराउने मुख्य खेलाडीहरुको सूचिमा पर्छन् । तेक्वान्दो खेलमा संजिवले हासिल गरेको सफलता आज उनको पहिचान बनेर स्थापित भएको छ ।

सानो उमेरदेखी तेक्वान्दो खेलमा समर्पित संजिव यतिबेला खेलाडीबाट प्रशिक्षक बनिसकेका छन् । तेक्वान्दो प्रति उनको लगावले उनलाई खेलाडीमा मात्र सिमित गरेन, दक्ष खेलाडी उत्पादन गर्ने प्रशिक्षकको भूमिकामा समेत अघि बढ्न प्रेरित गर्यो । जसकारण उनले आफ्नो बाँकी जिवन तेक्वान्दोमै समर्पित गर्ने निर्णय गरे र यसै क्षेत्रमा सक्रिय भईरहेका छन् ।

तेक्वान्दो खेलबाट सफलताको शिखर चुमेका संजिवको बाल्यकाल सामान्य परिवारमा बितेको थियो । उनि कक्षा ६ मा पढ्ने उमेरदेखी तेक्वान्दोमा आकर्षित भएका थिए । सन् १९९९ मा संजीवले आफ्नो खेल जिवनको औपचारिक सुरुवात गरेका थिए । बुवा भवनाथ, आमा मञ्जुदेवी र काका गोकुलले तेक्वान्दो खेल खेल्न प्रेरित गरेपछि संजिव यस खेलमा आकर्षित भएका हुन् ।

तेक्वान्दो प्रवेश गरेसंगै निजगढ डोजाङको सदस्य भएका संजिव नियमित प्रशिक्षण लिन थाले । उनलाई कृष्णमुरारी खड्का र चित्रबहादुर लामाले प्रशिक्षण गराउथे । खड्का यतिबेला तेक्वान्दो खेलमै सक्रिय रहदै अमेरिकामा छन् भने लामा तेक्वान्दो संघ जिल्ला शाखाका अध्यक्ष छन् । खड्का र लामाबाट प्रशिक्षित संजिवले तेक्वान्दो खेललाई नियमित बनाउन थाले ।

घरदेखी तेक्वान्दो खेल्ने स्थान नजिकै भएका कारण पनि संजिवलाई सहज भयो । तेक्वान्दो खेल्ने क्रममा स्थानीय र क्षेत्रीय स्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाउदै उनले अनुभव बटुल्न थाले । उनको खेलबाट प्रशिक्षक समेत निकै प्रभावित हुन्थे । आकर्षक खेल प्रदर्शन गरेका कारण उनले सबैबाट हौसला पाउथे ।

तेक्वान्दो र शिक्षालाई संगै अघि बढाएका संजिव प्रविणता तहको अध्ययनपछि काठमाण्डौ पुगे । थप उच्च शिक्षाको अध्ययनका लागि काठमाण्डौ पुगेका उनले त्यहीबाट तेक्वान्दो खेललाई नियमित गर्न थाले । उनि जावलाखेल डोजाङमा आवद्ध भएर प्रशिक्षण लिने र जुनियर खेलाडीलाई प्रशिक्षित समेत गर्न सुरु गरे ।

निजगढबाट काठमाण्डौ पुगेका संजिवले थुप्रै प्रतियोगितामा सहभागी हुने र अनुभव बटुल्ने अवसर प्राप्त गरे । जसले उनको खेललाई थप तिखार्दै लग्यो र सफलतातर्फ अघि बढाउदै लग्यो ।

संजिवले सन् २०१९ मा बेलायतको म्यानचेस्टरमा आयोजना भएको ‘ब्रिटिस अटम ओपन च्याम्पियनपि’ मा नेपालका लागि स्वर्ण पदक जिते । त्यसअघि उनले २०१८ मा हङकङ-नेपाल तेक्वान्दो महासंघले आयोजना गरेको १६औँ च्याम्पियनसिपमा रजत पदक र सन् २०१९ मा स्पेनको बार्सिलोनामा आयोजना भएको २०औँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जितेका थिए ।

उनले हङकङमा आयोजित २२औं एसियन सिटीज तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदका जितेका थिए । दक्षिण कोरियाको मुजुमा सन् २०१८ जुलाई २२ मा आयोजित मास्टर्स कोर्स उनले पूरा गरिसकेका छन् । तेक्वान्दोमा थुप्रै सफलता हात पारेका संजिवले सन् २०१९ मा अमेरिकाको लस भेगासमा आयोजित यूएस ओपन, सन् २०१८ मा भएको क्यानडा ओपन र २०१८ मै भएको जी–रेंकको अन्तर्राष्ट्रिय प्रशिक्षक सेमिनारमा सहभागिता जनाएका छन् ।

सन् २०२१ मा संजिव थप प्रशिक्षणका लागि मकाउ पुगे । त्यहाँ पुगेपछि उनले मकाउ तेक्वान्दो महासंघमा आवद्ध भएर आफू प्रशिक्षित हुने र अन्यलाई प्रशिक्षण दिन थाले । खेलाडीसंगै रेफ्रीको मान्यता समेत प्राप्त गर्दै अघि बढेका संजीवले थुप्रै प्रतियोगितामा रेफ्रीको भूमिका समेत निर्वाह गरेका छन् ।

खेलकुदको माध्यमबाट देशविदेशमा चर्चा बटुलेका संजिवमा समेत विभिन्न संघसंस्थाबाट सम्मानित भईसकेका छन् । राष्ट्रिय खेलकुद परिषद, गैरआवासीय नेपाली संस्था मकाउ, मधेस प्रदेश सरकार, जावलाखेल तेक्वान्दो डोजाङ, निजगढ नगरपालिका, तारकेश्वर नगरपालिकाले पनि उनलाई सम्मान गरेको छ । थुप्रै संघसंस्थाबाट सम्मानित भएका संजिव आफ्नो जिवन तेक्वान्दोमै समर्पित गर्न चाहन्छन् ।

‘तेक्वान्दो खेलले पहिचान दिलाएको छ । अब मेरो लक्ष्य भनेको यस खेलमा दक्ष खेलाडी उत्पादन गर्ने हुनेछ’ संजिवले भने ‘जति धेरै खेलाडी उत्पादन गर्न सके त्यति मलाई सन्तुष्टी मिल्नेछ ।’

प्रतिक्रिया दिनुहोस्