सटर बहाल रकम एकमुष्ठ बुझाउने फलफूल व्यवसायीलाई उपमहानगरको सम्मान


eShilalekh

१८ पुष २०७९, सोमबार २१:३५

सिमरा: तीन आर्थिक वर्षदेखि बक्यौता रहेको सटर बहाल रकम एकमुष्ठ बुझाउने एक फलफूल व्यवसायीलाई जीतपुरसिमरा उपमहानगरपालिकाले सम्मान गरेको छ । 

आर्थिक वर्ष २०७६/०७७ देखिको बक्यौता र आर्थिक वर्ष २०७९/०८० चैत्र मसान्तसम्मको अग्रिम सटर बहाल रकम बुझाउने व्यवसायी वीरेन्द्र सहनी गोढीलाई उपमहानगरपालिकाले सम्मान गरेको हो ।

मिना हाट बजारको सटरमा फलफूलको व्यवसाय गर्दै आएका सहनीले पाँच लाख ४६ हजार रकम एकमुष्ठ बुझाएका हुन् । उनलाई नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीले सम्मान गरेका थिए ।

सहनीले २८,२९,३० र ३१ नम्बरको चारवटा सटर प्रयोग गर्दै आएका छन् । एकमुष्ठ रकम बुझाएका सहनीले पाँच प्रतिशत छुट सुविधा समेत पाएका छन् । उपमहानगरपालिकाले पुष मसान्त भित्र सटर बहाल रकम बुझाए पाँच प्रतिशत छुट दिने निर्णय गरेको छ ।

उपमहानगरपालिकाको स्वामित्वमा रहेको सटर प्रयोग गरेर तीन वर्षदेखिको बक्यौता रकम तिर्ने सहनी पहिलो व्यवसायी हुन् । व्यवसायिक प्रयोजनका लागि प्रयोग भइरहेका अन्य एक सय ३३ सटरको बक्यौता अझै बाँकी छ ।

जीतपुरको गुदरी बजारको एक सय एक र मिना बजारको ३३ वटा सटर ब्यवसायिक प्रयोजनका लागि प्रयोग भइरहेका छन् । उक्त सबै सटरको रकम आर्थिक वर्ष २०७६/०७७ देखि नै बाँकी रहेको राजश्व शाखा प्रमुख रामप्रसाद पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्