महशुल नबुझाउने ग्राहकको विधुत काट्दै प्राधिकरण, एकै दिन एक सय ४६ ग्राहकको सेवा काटियो


eShilalekh

१५ माघ २०७९, आईतवार १९:१०

सिमराः नेपाल विधुत प्राधिकरण सिमरा वितरण केन्द्रले महशुल नबुझाउने ग्राहकको विधुुत सेवा काट्न सुरु गरेको छ । पटकपटक सूचना गर्दै आएको प्राधिकरणले तीन महिनादेखि महशुल नबुझाएका ग्राहकको विधुुत सेवा आइतवादेखि काट्न थालेको हो ।

विधुत वक्यौता उठाउन १० दिने अभियान सुरु गरेको प्राधिकरणले एकै दिनमा एक सय ४६ ग्राहकको विधुत लाइन काटेको छ । लाइन काटिएका उक्त ग्राहकबाट झण्डै ११ लाख ३४ हजार वक्यौता उठाउन बाँकी रहेको केन्द्रका प्रमुख रामु श्रेष्ठले बताए ।

विधुत महशुल वक्यौता बुझाउन पटकपटक आग्रह गर्दा समेत अटेर गरेपछि सेवा काट्न बाध्य हुनुपरेको श्रेष्ठले बताए । लाइन काटिएकामध्ये केही ग्राहकले तत्कालै कार्यालयमा आएर रकम समेत बुझाएको श्रेष्ठले इशिलालेखलाई जानकारी दिए ।

केन्द्रले २० वटा एरिया विभाजन गरेर अभियान सुरु गरेको हो । जस अन्तर्गत पहिलो दिनमा एउटा एरियाको मात्रै एक सय ४६ ग्राहकको लाइन काटिएको हो । अन्य १९ वटा एरियामा पुगेर महशुल नबुझाउने ग्राहकको लाइन काटिने श्रेष्ठले बताए ।

विधुत महशुलका लागि मिटर रिडिङ भएको सात दिन भित्र दुई प्रतिशत छुट र ४० दिन नाघेमा २५ प्रतिशतसम्म जरिवाना छ । दुई प्रतिशत छुटको सेवा लिनुपर्ने ग्राहकले २७ प्रतिशत जरिवाना तिरिरहेका कारण सचेत गराउनका लागि पनि विधुत कटौती अभियान सुरु गरेको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्