सिमरामा दुई दिने स्तन तथा पाठेघर सम्बन्धि परीक्षण तथा परामर्श शिविर सुरु


eShilalekh

२७ माघ २०७९, शुक्रबार २१:२८

सिमराः सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शुक्रवारदेखि दुई दिने स्तन तथा पाठेघर सम्बन्धि परीक्षण तथा परामर्श शिविर सुरु भएको छ । जीतपुरसिमरा २ स्थित सहकारी संस्थाको कार्यालयमा शिविर सुरु भएको हो ।

शिविरको पहिलो दिन एक सय ८० जना महिलाले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । स्त्री रोग विशेषज्ञ डा. सौजन्य कर्माचार्यको नेतृत्वमा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेलबाट आएको चिकित्सकको टोलीले महिलाको स्वास्थ्य परीक्षण गरेको हो ।

शिविरमा परीक्षण गरिएकोमध्ये केही महिलामा पाठेघरमा समस्या देखिएको र आवश्यक उपचारका लागि परामर्श दिइएको संस्थाकी कोषाध्यक्ष गिता शर्माले जानकारी दिएकी छिन् । शनिवार बिहान ११ बजेसम्म आयोजना हुने शिविरमा विज्ञ चिकित्सकले पाठेघर र स्तनसम्बन्धि समस्याको परीक्षण गर्नेछन् ।

ल्याब सुविधासहित आयोजित शिविरमा चिकित्सकले महिलाको स्तन तथा पाठेघरको मुखमा समस्या रहे नरहेको परीक्षण गर्नुका साथै समस्या देखिएका महिलालाई आवश्यक उपचारका लागी परामर्श र सुझाव दिने गरेको शर्माले जानकारी दिईन् । शिविरमा परीक्षण गर्नका लागि दुई सय ५० र तीन सय शुल्क राखिएको छ ।

यसअघि शिविरको उद्घाटन मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले गरेका थिए । संस्थाकी अध्यक्ष अनिता लम्साल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशसभा सदस्य मञ्जु थापामगरसहित संस्थाका पदाधिकारी र सदस्यको उपस्थिती रहेको थियो । उद्घाटन कार्यक्रमको सहजीकरण संस्थाकी सचिव भिमादेवी शर्माले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्