बजनीमा आयोजित शिविरमा चार सय स्थानीयले गराए स्वास्थ्य परीक्षण


eShilalekh

२६ फाल्गुन २०७९, शुक्रबार २१:५७

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ३ बजनीमा आयोजित शिविरमा करिब चार सय स्थानीयको स्वास्थ्य परीक्षण गरिएको छ । वडा कार्यालयद्धारा आधारभूत स्वास्थ्य चौकीमा आयोजित शिविरमा स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

शिविरमा मधुमेह, रक्तचाप, आँखा, नाक, कान, घाँटी, छालालगायत विभिन्न स्वास्थ्यसम्बन्धि समस्याको परीक्षण गरिएको थियो । उपमहानगरपालिका र नेपाल आँखा अस्पताल औराहका चिकित्सकले स्थानीयको स्वास्थ्य परीक्षण गरेका हुन् ।

शिविरमा उपमहानगरपालिकाका डा. दीपक गिरी, डा. प्रशान्त वर्णवालसहित नर्स र अन्य स्वास्थ्यकर्मीले स्थानीयको परीक्षण गरेका थिए भने आँखा अस्पतालका चिकित्सकले आँखाको जाँच गरेका थिए ।

सिमरास्थित नगर अस्पतालका चिकित्सक डा. गिरीले शिविरमै स्थानीयको मधुमेह जाँच गरिएको र अन्यको हकमा स्वास्थ्य परीक्षण गरी परामर्श दिइएको बताए । स्वास्थ्य शिविरमा जाँच गरिएकामध्ये समस्या देखिएका बिरामीलाई थप उपचारका लागी नगर अस्पतालमा बोलाएर थप उपचार गरिने डा. गिरीको भनाई छ ।

शिविरमा स्थानीयलाई निःशुल्क औषधी समेत वितरण गरिएको वडाध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिएका छन् । उनले असार मसान्तसम्म प्रत्येक महिनाको दुई पटक शिविरको आयोजना गरिने बताए । वडाध्यक्ष कार्कीले आगामी दिनमा वृद्धवृद्धाको स्वास्थ्य जाँचका लागी घरमै स्वास्थ्य सेवा प्रदान गर्ने तयारी रहेको समेत बताए ।

यसअघि शिविरको उद्घाटन नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्