पथलैयामा सयौंले गरे एमाले प्रवेश, ज्ञवालीले गरे स्वागत


eShilalekh

२७ कार्तिक २०७८, शनिबार १६:४२

पथलैया : जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित पथलैयामा एक सय ६० भन्दा बढी नेकपाल एमालेमा प्रवेश गरेका छन् । एमाले वडा कमिटीले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।


एमाले प्रवेश गर्नेलाई एमाले स्थायी कमिटी सदस्य एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरे । विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेलाई स्वागत गर्दै उनले अब कहिल्यै पछुताउन नपर्ने बताए । ‘तपाईले जनताको पार्टी रोजेर आउनुभएको छ । तपाईले आफूले गरेको यो निर्णयमा कहिल्यै पछुताउनुपर्ने छैन्’, ज्ञवालीले भने ‘तपाईहरुको साथमा हामी छौं ।’


कार्यक्रममा बोल्दै ज्ञवालीले विभिन्न प्रपन्च रचेर एमालेलाई सत्ताबाट हटाएपनि आगामी निर्वाचनमा जनताले एमालेलाई फेरी पनि ठुलो पार्टी बनाएर पठाउने दाबी गरे । जनादेशको सरकारलाई परमादेशले हटाएपनि जनता एमालेको पक्षमा रहेको उनको भनाई थियो ।


सत्तामा रहेका दलका कार्यकर्ता प्रतिपक्ष रोजेर आउनुले पनि वर्तमान सरकार जनताको पक्षमा नरहेको स्पष्ट भएको भन्दै ज्ञवालीले देशैभर एमाले प्रवेश गर्ने संख्या बढीरहेको बताए । ज्ञवालीले एमालेको मंसीर १० देखी हुने महाधिवेशनले पार्टी अझै सशक्त ढंगबाट अघि बढ्ने बताए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य अच्युत मैनाली, एमाले प्रदेश २ का अध्यक्ष एवम् पूर्व कृषी मन्त्री ज्वाला साह, एमाले केन्द्रीय सल्लाहकार सदस्य एव्म पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, एमाले बाराका अध्यक्ष देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, कोल्हबी नगरपालिकाका प्रमुख भरत भण्डारी, जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती चौधरीलगायत एमालेका प्रदेश कमिटी, जिल्ला कमिटी, नगर र वडासहित स्थानिय कार्यकर्ताको उपस्थिती रहेको थियो ।


एमाले वडा कमिटीका अध्यक्ष ईश्वर थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला कमिटी सदस्य रत्न उप्रेतीले गरेका थिए । कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य एवम् युवा संघका केन्द्रीय सदस्य हिरा बस्नेतले स्वागत मन्तब्य राखिएको थियो । कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो भने आशाकाजी श्रेष्ठ र चयन मगरले सांगितिक प्रस्तुती समेत दिएका थिए ।


यसैगरी कोल्हबी नगरपालिकाको नगर अधिवेशन समेत सम्पन्न भएको छ । अधिवेशनको पुरनदेव चौधरीको अध्यक्षतामा नगर कमिटी गठन गरेको छ । पथलैयाको कार्यक्रम पश्चात कोल्हबी पुगेका ज्ञवालीले अधिवेशनको उद्घाटन गरेका थिए । कार्यक्रममा एमाले नेता प्रभु साहसहित अच्युत मैनाली, ज्वाला साह, पुरुषोत्तम पौडेल, देवनारायण चौधरीलगायत एमालेका सयौं नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्