जगदम्बा जीतपुरसिमरा गोल्डकपः चितवनसंग आयोजक स्तब्ध


eShilalekh

९ चैत्र २०७९, बिहीबार २२:५८

सिमराः भरतपुर फूटबल क्लबले जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपमा बिजयी सुरुवात गरेको छ । आयोजक नव जनजागृति युवा क्लबबिरुद्ध उद्घाटन खेलमा जित हात पार्दै भरतपुरले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

आयोजकलाई स्तब्ध पार्दै अन्तिम आठको यात्रा तय गर्ने क्रममा भरतपुरले ३–१ को जित निकालेको हो । भरतपुरको जीतमा सुनिल श्रेष्ठले दुई र भिष्म क्षेत्रीले एक गोल गरे । आयोजकका लागि ग्लोरीले एक गोल फर्काए ।

फ्लड लाईट मुनी भएको खेलको सातौं मिनेटमा भिष्मको गोलबाट चितवनले अग्रता लिएको थियो । आकाश थापा मगरको क्रसबलमा गोल गर्दै भिष्मले चितवनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

घरेलु मैदान विपक्षी टिमको अग्रतालाई आयोजक खेलको ३३ औं मिनेटमा बराबरीमा ल्याएको थियो । चितवनका डिफेन्स सजिन थापा मगरले आयोजकका प्रज्वल थापा मगरलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै आयोजक खेल फर्किएको थियो । आयोजक टिमबाट खेलेका बिदेशी खेलाडी ग्लोरीले गोल गर्दै घरेलु समर्थकको खुशी फर्काएका थिए ।

तर दर्शक र आयोजक टिमको खुशी धेरै बेर टिक्न सकेन् । खेलको ३७औं मिनेटमा चितवनका लागि सुनिल श्रेष्ठले अग्रता बढाएका थिए । पेनाल्टीमार्फत बराबरीमा फर्किएको आयोजकले चितवनलाई पनि पेनाल्टीको अवसर सुम्पिएको थियो ।

आयोजकका रतिश मगरले चितवनका सन्तबहादुर गुरुङलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीमा सुनिल श्रेष्ठले गोल गरेका थिए । भारतीय सेनामा कार्यरत सुनिलले आयोजकलाई गोलरक्षक रोहन मगरलाई कुनै अवसर दिएनन् । उनको प्रहारले सिधै जाली चुमेको थियो ।

खेलको पहिलो हाफमा २–१ ले अग्रता लिएको चितवनले दोस्रो हाफको इन्जुरी समयमा गोलअन्तर फराकिलो पारेको थियो । दोस्रो हाफमा आयोजकले खेलमा फर्कने केही राम्रो अवसर पाएपनि सदुपयोग गर्न सकेन् ।

दोस्रो हाफमा थपिएको सात मिनेटको इन्जुरी समयको पाचौं मिनेटमा सुनिल श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–१ को स्थितीमा पुर्याएका थिए । सुनिल खेलको म्यान अफ दि म्याच घोषित भए । सुनिलले सिमरास्थित ज्योती विकास बैंकद्धारा प्रायोजित म्यान अफ दि म्याच बापत १० हजार नगद प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत मोफसलका वीरगन्ज युनाईटेड क्लब र बागमती युवा क्लबबीच खेल हुनेछ । वीरगन्ज युनाईटेड बि डिभिजन र बागमती युवा क्लब सि डिभिजनको क्लब हो ।

यसअघि प्रतियोगिताको उद्घाटन बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य एवम् पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले सिमरा रंगशालाको बिकासका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा संविधान सभाका सदस्य शोभाकर पराजुली, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेललगायतले मन्तब्य राखेका थिए । उद्घाटन समारोहमा मन्तब्य राख्ने क्रममा नगर प्रमुख पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतियोगिताको सफलताका लागि पठाएको शुभकामना सन्देश समेत पढेर सुनाएका थिए ।

क्लबका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सहजीकरण सुनिल गाउलेले गरेका थिए । उद्घाटन समारोहमा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, खेलकुद संघसंस्थामा आवद्ध प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिती रहेको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा एनआरटी, नेपाल एपीएफ क्लब, चर्च ब्वाईज युनाइटेड, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, वीरगन्ज युनाइटेड क्लब, मकवानपुर ११, बागमती युवा क्लब, भरतपुर फूटबल क्लब र आयोजक सहभागी हुनेछन् । चैत्र १८ गते संचालन हुने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्