निजगढमा चलचित्र निर्माण सम्बन्धी प्रशिक्षण सुरु


eShilalekh

१ मंसिर २०७८, बुधबार १६:५३

निजगढ: नेपाल चलचित्र विकास बोर्डको आयोजनामा चलचित्र निर्माण सम्बन्धी सात दिने आधारभुत प्रशिक्षण निजगढमा सुरु भएको छ ।


चलचित्र क्षेत्रसंग सम्बन्धित प्राविधिक पक्षको प्रशिक्षण गराउने उदेश्यसहित आयोजना गरिएको कार्यक्रमको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले बुधवार उद्घाटन गरेका छन् ।


प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै दहालले सात दिने प्रशिक्षणबाट नेपाली चलचित्र क्षेत्रमा काम गर्ने केही जनशक्ति उत्पादन हुन सके पनि ठुलो उपलब्धी हुने बताए । उनले सहभागी प्रशिक्षार्थीलाई अनुशासित र लगनशिलताका साथ प्रशिक्षण लिन आग्रह गरे ।


नेपाल चलचित्र निर्देशक समाजसंगको समन्वयमा आयोजित प्रशिक्षणमा ३० जना सहभागी छन् । कार्यक्रममा अभिनेता निखिल उप्रेतीले समेत प्रशिक्षण दिने भएका छन् । प्रशिक्षण कार्यक्रमको उद्घाटनमा आईपुगेका अभिनेता उप्रेतीले यस्तो किसिमको प्रशिक्षणले नया जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।


उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य जयराम दहाल, निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनाल, चलचित्र निर्देशक समाजका संस्थापक अध्यक्ष युवराज लामा, होटल तथा पर्यटन ब्यवसायी संघ प्रदेश २ का अध्यक्ष मोहन शर्मालगायतले मन्तब्य राखेका थिए ।


कार्यक्रममा चलचित्र निर्देशन, लेखन, छायांकनलगायत विभिन्न विषयमा प्रशिक्षण दिइने बोर्डले जनाएको छ । सात दिने प्रशिक्षणमा बोर्डका अध्यक्ष एवम् चलचित्र निर्देशक दहाल, अभिनेता उप्रेती, अनुप बराललगायतले प्रशिक्षण दिने बताइएको छ । निजगढस्थित तारा ईन होटलमा आयोजित कार्यक्रममा निजगढ नगरपालिका, होटल तथा पर्यटन ब्यवसायी संघलगायतले सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्