एमबीबीएस अध्ययनरत दुई छात्रछात्रालाई १० लाख, शिक्षा र स्वास्थ्य प्राथमिकतामा: नगर प्रमुख सिंह


eShilalekh

१७ जेष्ठ २०८०, बुधबार ०९:२४

सिमरा: पचरौता नगरपालिकाका नगर प्रमुख जलान्धर सिंहले एमबीबीएस अध्ययनरत दुई छात्रछात्रालाई मंगलबार जनही १० लाख प्रदान गरेका छन् ।

जनप्रतिनिधिको रुपमा निर्वाचित भएको एक वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुखले सिंहले अध्ययन छात्रवृत्तिस्वरुप रकम प्रदान गरेका हुन् ।

नगरपालिकाको कार्यलयमा आयोजित कार्यक्रममा नगर प्रमुख सिंहले पचरौता ५ कि निशा चौरसिया र वडा नं. १ का अंशु राजलाई जनही १० लाखको चेक हस्तान्तरण गरेका हुन् । निशा र अंशु दुबै एमबीबीएसमा अध्ययनरत छात्रछात्रा हुन् ।

नगर प्रमुख सिंहले यसअघि रेडियोग्राफर पढ्दै गरेकी प्रसंशाकुमारी यादवलाई अध्ययन छात्रवृत्तिबापत पाँच लाख प्रदान गरेका थिए । अध्ययनका लागि नगरपालिकाबाट सहयोग प्राप्त गरेकी यादव समेत कार्यक्रममा सहभागी भएकी थिइन् ।

छात्रवृत्ति पाएका छात्रछात्राले निर्वाचनको समयमा नगर प्रमुख सिंहले गरेका प्रतिबद्धता पूरा गरेको भन्दै खुसी व्यक्त गरेका थिए । नगर प्रमुखले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको छात्रछात्राको भनाइ थियो ।

कार्यक्रममा नगर प्रमुख सिंहले  राष्ट्रिय स्तरका प्रतियोगिता खेल्ने क्रिकेट खेलाडीलाई समेत सहयोग हस्तान्तरण गरेका छन् । क्रिकेट प्रशिक्षणका लागि सिंहले भुलन सहनीलाई दुई लाख २५ हजार, सुशान्त सिंहलाई एक लाख ५० हजार, सहजाद हुसेन अंसारीलाई एक लाख, अभयकुमार सिंहलाई ६५ हजार र समीर अंसारीलाई ६० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

यसैगरी नगर प्रमुख सिंहले नगर क्षेत्र भित्र रहेका विभिन्न विधालयलाई एक सय २६ थान पंखा हस्तान्तरण गरेका छन् ।

छात्रवृत्ति र पंखा हस्तान्तरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले पचरौताको विकासले गति लिदै गरेको बताए । आफू निर्वाचित भएर आएपछि शिक्षा र स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता दिएर अघि बढेको बताउदै सिंहले नगरबासीले आगामी दिनमा नगरबासीले अनुभुती हुने गरि काम हुने बताएका छन् ।

पचरौतामा एक सय शैयाको अस्पताल निर्माणको प्रक्रिया अघि बढिरहेको बताउदै सिंहले हालै संचालनमा आएको प्रयोगशालामा आगामी वर्षदेखि ल्याब परिक्षणलाई नि:शुल्क बनाइने बताए ।

निर्वाचित भएर आएको लामो समय मुद्दामामिलामा अल्झाइएको बताउदै सिंहले पचरौता र नगरबासीको पक्षमा काम गर्न आफू प्रतिबद्ध भएर लागिरहेको बताए । कार्यक्रममा सिंहले एक वर्षमा नगरले गरेका प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपप्रमुख नसिमा खातुन, प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्र, वडाध्यक्ष लक्ष्मी यादव, शिक्षा शाखा सहसंयोजक मुकेशकुमार सिंह, अन्य वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्