परिक्षा केन्द्रको विवादः दोस्रो दिन चार सय भन्दा बढी परिक्षार्थी अनुपस्थित


eShilalekh

२६ असार २०८०, मंगलवार २०:४९

सिमराः स्नातक तह तेस्रो वर्षको परिक्षाको दोस्रो दिन मंगलबार सिमरा कलेज परिक्षा केन्द्रमा चार सय भन्दा बढी परिक्षार्थी अनुपस्थित भएका छन् । परिक्षा दिएर घर फर्कने क्रममा सोमबार एक छात्रको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको र परिक्षा केन्द्र वीरगन्ज बाहिर सारिएको भन्दै विद्यार्थी संगठन आन्दोलित बनेपछि परिक्षा प्रभावित बनेको हो ।

सिमरा कलेजस्थित परिक्षा केन्द्रबाट पहिलो दिनको परिक्षा सकेर घर फर्कदै गरेका ठाकुरराम बहुमुखी क्याम्पसका परिक्षार्थी बिजय शर्माको दुर्घटनामा मृत्यु भएपछि विभिन्न विद्यार्थी संगठनले परिक्षा केन्द्र वीरगन्जमै कायम हुनुपर्ने माग अघि सारेका छन् । घटनापछि परिक्षा केन्द्र टाढा भएको भन्दै वीरगन्जमा प्रदर्शन गरेका विद्यार्थी संगठनले दोस्रो दिन सिमरास्थित परिक्षा केन्द्र अगाडी धर्ना दिएका थिए ।

परिक्षा केन्द्र वीरगन्ज कायम गर्न माग गर्दै विद्यार्थीले मुट गेटमै नारा जुलुस गरेका थिए । सिमरा कलेजका प्रमुख शालिकराम अधिकारीका अनुसार नियमिततर्फका पाँच सय परिक्षार्थीमध्ये ७६ जनाले मात्रै दोस्रो दिनको परिक्षा दिएका छन् । चार सय २४ जना परिक्षार्थी परिक्षामा सहभागी नभएको अधिकारीले जानकारी दिए ।

यसैगरी पुरकतर्फका दुई सय ४५ मध्ये करिब २५ जना परिक्षार्थी परिक्षामा अनुपस्थित भएका छन् । दोस्रो दिन नियमिततर्फ शिक्षा र पुरकतर्फ बिजनेश ल विषयको परिक्षा थियो । सिमरा कलेजमा पर्साको ठाकुरराम बहुमुखी क्याम्पस र बाराको रामराजा बहुमुखी क्याम्पसको केन्द्र तोकिएको छ ।

सात विद्यार्थी नेता तीन घण्टा प्रहरी नियन्त्रणमा
सिमरा कलेज परिक्षा केन्द्र अगाडी विरोध प्रदर्शन गर्ने सात जना विद्यार्थी नेतालाई प्रहरीले तीन घण्टा नियन्त्रणमा राखेर रिहा गरेको छ । परिक्षा केन्द्र अगाडी विरोध गरेको भन्दै इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले सात जनालाई नियन्त्रणमा लिएको थियो ।

अनेरास्ववियुका केन्द्रीय सदस्य एवम् पर्सा जिल्ला ईन्चार्ज रेयाज अन्सारी, नेपाल विद्यार्थी संघका जिल्ला सभापति रमेश यादव, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष मिरोज अहमद, समाजवादी विद्यार्थी संगठनका सागिर अली, अनेरास्ववियु क्याम्पस ईकाई कमिटीका उपाध्यक्ष अरमान हासमी, बिशाल पटेल र कमलेश यादवलाई प्रहरीले तीन घण्टा नियन्त्रणमा राखेर रिहा गरेको हो । प्रहरीले उनिहरुलाई परिक्षा अवधिको समयसम्म इलाका प्रहरी कार्यालय परिसरमा नियन्त्रणमा राखेको थियो ।

विद्यार्थी संगठनको प्रदर्शनका कारण परिक्षा केन्द्रको स्थिती केहीबेर तनावपूर्ण बनेको थियो । विद्यार्थी संगठनले सोमबार विज्ञप्ति जारी गर्दै परिक्षा केन्द्र वीरगन्जबाहिर सारिएको विषयमा असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्