एमाले केन्द्रीय सदस्यलाई अनेरास्ववियु बाराको सम्मान


eShilalekh

१८ मंसिर २०७८, शनिबार १४:३५

सिमरा: नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा बाराबाट निर्वाचित केन्द्रीय सदस्यलाई शनिवार निजगढमा सम्मान गरिएको छ । एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वविय) ले केन्द्रीय सदस्य अच्युत मैनाली, पुरुषोत्तम पौडेल, बलविर चौधरी र ज्वालाकुमारी साहलाई सम्मान गरेको हो ।

कार्यक्रममा केन्द्रीय सदस्यमा निर्वाचित महम्मद समीर र मञ्जु थापामगर भने उपस्थित भएका थिएनन् । कार्यव्यस्तताका कारण समीर र थापामगर उपस्थित नभएको अनेरस्ववियु जिल्ला अध्यक्ष भैयाराम सहनीले जानकारी दिए ।

सम्मान कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य पौडेलले बारा जिल्ला अब एमालेको लालकिल्ला हुने बताए । पार्टीभित्र देखिएको समस्या अब समाधान भएको भन्दै पौडेलले अबको निर्वाचनमा एमालेले चार वटै क्षेत्रमा जीत हात पार्ने बताए ।

उनले पार्टीको भातृसंगठनहरुलाई पनि अब सक्रिय बनाएर अघि बढाउने बताए । पार्टीलाई सशक्त बनाउन भातृ संगठनको भूमिका अहम हुने भन्दै पौडेलले त्यसका लागि पार्टी नेतृत्व गम्भिर रहेको बताए ।

कार्यक्रममा अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य एवम् बारा, पर्सा इन्चार्ज त्रिलोक विक्रम शाहले निर्वाचित केन्द्रीय सदस्यलाई बधाई दिदै भातृ संगठन परिचालनका लागि नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, अनेमसंघ केन्द्रीय सदस्य अन्जु नेपाली, निजगढ नगर अध्यक्ष दिलबहादुर लामा, एमाले नेता एकबहादुर श्रेष्ठ, अम्बिका चौलागाईलगायतको उपस्थिती रहेको थियो ।

सहनीको अध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन सचिव श्यामकृष्ण घिमिरेले गरेका थिए । कार्यक्रममा निर्जल घिमिरेले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्