सिमरामा अन्तर्राष्ट्रिय भेट्रान कप फूटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदै


eShilalekh

५ आश्विन २०८०, शुक्रबार १९:२५

सिमराः बाराको सिमरामा अन्तर्राष्ट्रिय भेट्रान कप फूटबल प्रतियोगिताको तेस्रो संस्करण आइतबारदेखि सुरु हुँदैछ । सिमरा भेट्रान क्लबको आयोजनामा असोज ७ गतेदेखि १३ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

सिमरा रंगशालामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विषयमा जानकारी दिन शुक्रवार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष राजकपुर राउतले तयारी अन्तिम चरणमा रहेको बताए । उनले स्थानीय स्तरबाट प्राप्त साथ र सहयोगले प्रतियोगिता आयोजना गर्न आफूहरु उत्साहित रहेको बताए ।

स्व. मञ्जुदेवी गुप्ताको स्मृतिमा आयोजना हुँदै आएको प्रतियोगितामा यस वर्ष भारत, बंगलादेश र नेपालका गरी १२ वटा क्लबले सहभागिता जनाउने भएका छन् । आयोजकका अनुसार प्रतियोगितामा भारतको दार्जलिङ टाउन भेट्रान, क्लिभ हाउ भेट्रान क्लब कलकत्ता, बंगलादेशको भेट्रान एफसी, नेपालको चाबहिल भेट्रान, अभिषेक चर्च नवलपरासी, चितवन भेट्रान, वीरगन्ज युथ एकेडेमी, युनिटी भेट्रान पर्सा, फ्रिडम फाईटर क्लब काठमाडौं, नव जनजागृति युवा क्लब भेट्रान, इन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा र आयोजक क्लबको सहभागिता रहनेछ ।

फ्लड लाईट मुनी हुने प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले गर्ने भएका छन् । प्रतियोगिताको उद्घाटन खेल आयोजक र अभिषेक चर्च नवलपरासीबीच हुने भएको छ । ‘मधेस प्रदेशको शान, भेट्रान खेलाडीप्रति उच्च सम्मान’ को नारासहित आयोजना हुने प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्नेछन् ।

जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय र २४ वटै वडा कार्यालय, हुलास स्टील, सुर्य नेपाल, नारायणी रोलिङ  मिल, नविल बैंक, युआर गोल्ड प्रिमियम मसला चिया, अशोक स्टील, अल्पाईन अस्पताल, एभरग्रिन तराई सिमरा अस्पताल, एलएस न्युरो अस्पताल वीरगन्ज, बारा जिल्ला फूटवल संघ, नव जनजागृति युवा क्लब, सुसप्त मेडिकल, युआर अटामेटिक लण्ड्री, सगरमाथा इन्स्योरेन्स, वर्डलिंकलगायतका संघसंस्थाको सहयोग रहेको आयोजक क्लबका अध्यक्ष राउतले जानकारी दिए । प्रतियोगिता आयोजना गर्न करिब २४ लाख ३९ हजार खर्च हुने अनुमान गरिएको राउतले बताए ।

प्रतिक्रिया दिनुहोस्