कलैयामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु

सिमराः बाराको कलैया उपमहानगरपालिका-४ स्थित अदालत रोडमा शनिबार राति दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
कलैयाबाट गञ्जभवानीपुरतर्फ जाँदै गरेको म.प्र.०३–०४४ प ०१२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर०५एभी ६१३६ नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी ६१३६ नम्बरको मोटरसाइकल चालक कलैया उपमहानगरपालिका-४ अदालत रोड बस्ने ३५ वर्षीय साहेब देवानको मृत्यु भएको प्रहरीले जनाएको छ । देवानलाई दुर्घटनालगत्तै उपचारका लागि परवानीपुरस्थित एल.एस. न्यूरो अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।
दुर्घटनामा ०१२३ नम्बरको मोटरसाइकल चालक बाराको करैयामाई गाउँपालिका-७ बस्ने ३५ का डिके चौधरी र मोटरसाइकलको पछाडि सवार १६ वर्षीय अन्जित चौधरी घाइते भएका छन् । दुवै घाइतेको एल.एस.न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।







