बाराले पायो तीन पोलिटव्युरो, चौधरी बनिन् केन्द्रीय सदस्य


eShilalekh

२८ मंसिर २०७८, मंगलवार ११:२८

सिमरा: नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित बाराका तीन केन्द्रीय सदस्यलाई पोलिटव्युरो सदस्य बनाइएको छ । एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले केन्द्रीय सदस्य अच्युत मैनाली, पुरुषोत्तम पौडेल र ज्वालाकुमारी साहलाई पोलिटव्युरो सदस्य बनाएको हो ।

पोलिटव्युरो बनाएसंगै उनिहरुको जिम्मेवारी पनि बाँडफाँड गरिएको छ । एमालेले मैनाली र साहलाई प्रदेश २ को सहईन्चार्जको जिम्मेवारी दिएको छ भने पौडेललाई खेलकुद फाँटको ईन्चार्ज तोकेको छ । यसैगरी केन्द्रीय सदस्यमा निर्वाचित महम्मद समिरलाई मुस्लिम फाँटको सहईन्चार्ज र मञ्जुकुमारी थापालाई मजदुर फाँटको सहईन्चार्ज बनाएको छ ।

सरस्वती चौधरी बनिन् केन्द्रीय सदस्य
जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती चौधरी एमालेको केन्द्रीय सदस्यमा मनोनित भएकी छिन् । एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकबाट चौधरी केन्द्रीय सदस्यमा मनोनित भएकी हुन् ।

चौधरी मनोनित भएसंगै बाराबाट एमालेको केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने सात जना भएका छन् । यसअघि एमाले दशौं राष्ट्रिय महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन सय एक जनाको नाम केन्द्रीय कमिटीका लागि प्रस्ताव गर्दा चौधरी त्यसमा अटाएकी थिइन् ।

तर चुनावी प्रक्रियामा सोही पदमा अर्को उम्मेदवारी परेपछि चौधरीले सहमतीका लागि उम्मेदवारी फिर्ता लिएकी थिइन् । महाधिवेशनमा उम्मेदवारी फिर्ता लिएकी चौधरीलाई केन्द्रीय कमिटी बैठकबाट मनोनित गरिएको हो ।

डा. कृष्ण पौडेल प्रदेश संगठन सचीव
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेल एमाले प्रदेश संगठन कमिटी प्रदेश २ को सचीवमा मनोनित भएका छन् । एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले डा. पौडेललाई प्रदेश सचीवको जिम्मेवारी सुम्पिएको हो । डा. पौडेल एमाले प्रदेश कमिटी सदस्य हुन् ।

एमाले केन्द्रीय कमिटी बैठकले सबै प्रदेश कमिटी पुर्नगठन गर्दै नयाँ नेतृत्व चयन गरेको छ । यसअघि प्रदेश अध्यक्ष रहेकी ज्वालाकुमार साहलाई पोलिटव्युरोको जिम्मेवारी दिदै प्रदेश २ को अध्यक्षमा रामअवतार यादवलाई चयन गरेको हो ।

प्रदेश कमिटीको उपाध्यक्षमा रेवती पन्त, फर्मुद नदाव र आरती भण्डारीलाई उपसचिव बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्