प्रदेश २ का पदाधिकारीले लिए सपथ, अब एमाले पहिलो शक्ति बन्न्नेछ: महासेठ


eShilalekh

३ पुष २०७८, शनिबार १०:४६

सिमरा: नेकपा एमालेका नवनिर्वाचित सचिव एवम् प्रदेश २ का ईन्चार्ज रघुवीर महासेठले आगामी निर्वाचनमा एमाले प्रदेशको पहिलो शक्ति हुने बताएका छन् ।

सिमरामा शुक्रवार सम्पन्न भएको प्रदेश पदाधिकारीको बैठकपछि प्रतिक्रिया दिदै महासेठले विगतको नतिजाभन्दा यस पटक एमालेले सबैलाई आश्चर्य पार्ने गरी विजय प्राप्त गर्ने बताए । ‘यसअघिको नतिजाभन्दा अब हुने निर्वाचनमा एमालेको नतिजा फरक हुन्छ, पहिलो शक्तिको रुपमा अगाडी आउनेछ’ महासेठले भने ।

एमालेलाई पहिलो शक्ति बनाउनका लागि पनि पदाधिकारीको पहिलो बैठक महत्वपूर्ण रहेको भन्दै महासेठले प्रदेशभित्र एमालेको अवस्था र रणनितिको विषयमा गम्भिर छलफल गरेको बताए । त्यसबाहेक बैठकमा माघ ८ गते एमाले अध्यक्ष केपी ओलीको उपस्थितीमा पर्सामा हुने कार्यक्रम, राष्ट्रिय सभा निर्वाचन, प्रदेश र जिल्लाको अधिवेशनका विषयमा छलफल गरिएको महासेठले जानकारी दिए ।

पर्साको जगरनाथपुरमा हुने एमालेको जनसभालाई भब्य बनाउने निर्णय बैठकले गरेको छ । बैठकले पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने केन्द्रीय कमिटीको निर्णय कार्यान्यवन गर्ने निर्णय गरेको छ ।

प्रदेश पदाधिकारीले लिए सपथ
एमाले सचिव एवम् प्रदेश २ ईन्चार्ज रघुवीर महासेठले प्रदेश २ का पदाधिकारीलाई सपथ ग्रहण गराएका छन् । सिमरामा सम्पन्न प्रदेश पदाधिकारी बैठक सुरु हुनुअघि महासेठले सपथ ग्रहण गराएका थिए ।

एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले प्रदेश पदाधिकारी पुर्नगठन गरेको थियो । पुर्नगठित प्रदेश पदाधिकारीका अध्यक्ष रामअवतार यादव, उपाध्यक्ष रेवती पन्त, सचिव डा. कृष्ण पौडेल, उपसचिव फरमुद नदाफ र आरती भण्डारीले सपथ लिएका हुन् ।

सपथपछि पदाधिकारीको बैठक सुरु भएको थियो । बैठकमा एमाले पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेल, लिलानाथ श्रेष्ठ, अच्युत मैनाली, पुरुषोत्तम पौडेल, ज्वाला साह, केन्द्रीय सदस्य प्रभु हजरा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्