हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगन्जबाट दुई पक्राउ


eShilalekh

९ बैशाख २०८१, आईतवार २०:५२

सिमराः हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले २२ लाख नगदसहित वीरगन्जबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया २३ का ३८ वर्षीय अर्जुन राउत कुर्मी र विन्दाबासिनी गाउँपािलका ३ का ४३ वर्षीय अजय कुमार साह रहेका छन् ।

प्रहरीले उनिहरुलाई वीरगन्ज ६ स्थित रुंगटा कम्प्लेक्समा रहेको माँ जगदम्बा मनि ट्रान्सफरबाट पक्राउ गरेको हो । पक्राउ परेकामध्ये साह उक्त मनि ट्रान्सफरका संचालक हुन् ।

पर्साका प्रहरी प्रवक्ता कुमार विक्रम थापाले एक हजार दरको एक हजार नौ सय ५५ थान, पाँच सय दरको पाँच सय थान र एक सय दरको सात थान गरी २२ लाख पाँच हजार सात सय रुपैया बरामद गरेको जानकारी दिए । प्रवक्ता थापाका अनुसार मनि ट्रान्सफरमा रहेका कुर्मीले बोकेको झोला शंकास्पद देखेर जाँच गर्दा उक्त रकम बरामद भएको हो ।

कुर्मीको झोलाबाट रकम बरामद भएपछि प्रहरीले ट्रान्सफरका संचालकलाई समेत नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवैलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा अनुसन्धान थालिएको प्रवक्ता थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्