औद्योगिक क्षेत्रको जोखिम नियन्त्रण गर्न अभिमुखिकरण सम्पन्न


eShilalekh

२३ बैशाख २०८१, आईतवार १५:५४

सिमराः सशस्त्र प्रहरी बलले औद्योगिक क्षेत्रमा हुनसक्ने सम्भावित विपद् जोखिम र त्यसको प्रतिकार्यका लागि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बलको ४० नम्बर रिजर्भ गण हेडक्वाटर पिलुवा र जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले कार्यक्रमको आयोजना गरेको हो ।

सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहद्धारा उद्घाटन भएको उक्त दुई दिने कार्यक्रममा सुरक्षाका सिद्धान्त र कृतिम विपद् सिर्जना गरी नियन्त्रणको अभ्यास गरिएको थियो ।

कार्यक्रमको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, वीरगन्ज उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष हरि गौतम, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, प्रसौनी उद्योग वाणिज्य संघका अध्यक्ष तुलसी गुप्तासहित बिभिन्न उद्योग उद्योगपति, सरकारी कार्यालयका कार्यालय प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।

अभिमुखिकरण कार्यक्रममा बारा र पर्साका विभिन्न उद्योगहरुमा कार्यरत व्यवस्थापन तथा सुरक्षा अधिकृत तहका ४८ जनाको उपस्थिति रहेको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै बाहिनीपति शाहले सम्भावित जोखिम मुल््यांकन गरी समयमै आवश्यक तयारी र उपकरणहरुको सहि प्रयोग गरेर विपद् न्युनिकरण गर्न सकिने बताएका थिए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले तालिमको उच्च प्रशंसा गर्दै आगामी दिनहरुमा मधेश प्रदेशका अन्य जिल्लामा यस्ता प्रकृतिका तालिमलाई नियमितरुपमा संचालन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्