जीतपुरसिमरा ३ का वडाध्यक्ष कार्की दोषी ठहर


eShilalekh

२८ बैशाख २०८१, शुक्रबार १७:१४

सिमराः सेवाग्राहीसंग रकम लिएको अभियोगमा निलम्बनमा रहेका जीतपुरसिमरा उपमहानगरपालिका ३ का वडाध्यक्ष ताराबहादुर कार्कीलाई विशेष अदालतले दोषी ठहर गरेको छ । न्यायाधिश टेकनारायण कुँवर र तेजनारायण सिंह राईको इजलाशले कार्कीलाई दोषी ठहर गरेको हो ।

अख्तियारको टोलीले पाँच लाख नगदसहित कार्कीलाई पुस २ गते जीतपुरबाट पक्राउ गरेको थियो । अख्तियारले कार्कीलाई दोषी रहेको निर्णय गर्दै माघ २० गते विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

कार्कीले भने अख्तियारको उक्त निर्णयमा चित्त नबुझेको भन्दै फाल्गुन ३ गते पुनरावेदन दिएका थिए । कार्कीले दिएको पुनरावेदन र अख्तियारले दायर गरेको मुद्धामा विशेष अदालतले फैसला सुनाएको हो । अदालतले अख्तियारको निर्णय सदर गर्दै कार्कीलाई दोषी ठहर गरेको हो ।

विशेषबाट दोषी ठहर भएका कार्कीले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् । विशेष अदालतको फैसलामा चित्त नबुझे सर्वोच्चमा पुनरावेदन गर्न सक्ने कानुनी प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्