रडले छेडिएर घाइते बालकको उपचारमा आर्थिक समस्या, अस्पतालबाट आमाको बिलौना


eShilalekh

११ जेष्ठ २०८१, शुक्रबार १८:०९

सिमराः बाराको सिमरा विमानस्थल अगाडीको सडकमा बनाइएको नालाको रडमा छेडिएर बिहीबार घाइते भएका आठ वर्षीय प्रितराज गिरी अझै होसमा आउन सकेका छैनन् । उनको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालको आईसियूमा उपचार भईरहेको छ ।

अस्पतालमा रहेका परिवारका अनुसार चिकित्सकले बालकको अवस्थाबारे शनिबार जानकारी दिने बताएका छन् । रडले पेटमा छेडेर गम्भीर घाइते भएका बालकको शल्यक्रिया गरिएको छ । बालककी आमा उषादेवीले छोरा अझै होसमा नआएको र आफूहरुले समेत भेटन नपाएको बताएकी छिन् ।

जीतपुरसिमरा १ स्थित थानीमाई आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालक घर नजिकै खेल्ने क्रममा लडेर नालामाथिको रडमा छेडिन पुगेका थिए । घटनालगत्तै उनलाई स्थानीयले अस्पताल लगेका हुन् ।

सिमरा विमानस्थलको मुख्य प्रवेशद्धारबाट उत्तरतर्फ जाने सडक छेउमा निर्माण भएको उक्त नालामा घटना भएको हो । नाला निर्माण भएको लामो समय वितिसक्दा पनि रड ठाडो अवस्थामा छोडिएको थियो भने नालालाई माथिबाट छोपिएको थिएन ।

रकम बुझाउन नसक्दा औषधी रोकियो

उपचारमा लाग्ने रकम जोहो गर्न नसक्दा बालकलाई आवश्यक पर्ने औषधी समेत रोकिएको छ । न्यूरो अस्पतालमा रहेको फार्मेसीले पैसा नबुझाएसम्म औषधी नदिने भन्दै रोकेको घाइते बालककी आमा उषाले बताईन् ।

बालकको उपचारमा अहिलेसम्म दुई लाख भन्दा बढी रकम लागेको छ । जसमध्ये उषाले सापटी खोजेर ४० हजार रकम बुझाएकी छिन् । उनले एक लाख ६० हजार अझै बुझाउन बाँकी छ । अस्पतालको फार्मेसीले औषधीका लागि ५० हजार बुझाउन भनेपछि उषालाई रकम जुटाउन समस्या परेको छ ।

‘औषधी दिने ठाँउमा ५० हजार मागिरहेको छ । म संग अहिले पैसा छैन’ उषाले भनिन् ‘पछि ऋण खोजेर तिर्छु अहिले औषधी दिनुस् भन्दा फार्मेसीले मानिरहेको छैन । म के गरु? ।’

होसमा नआएका कारण बालकलाई अझै केही दिन अस्पतालमा राखेर उपचार गर्नुपर्ने र गम्भीर चोटका कारण उनको उपचार खर्चिलो हुने देखिन्छ । तर सामान्य परिवारकी उषालाई भने उपचारमा आवश्यक रकम जोहो गर्न सजिलो देखिदैन् ।

उषाले सिमरास्थित एक उद्योगमा बुधबारदेखि ज्यालादारी गर्न सुरु गरेकी थिईन् । तीन सन्तानकी आमा उषा यसअघि सिमरामै रहेको एक टिभी पसलमा काम गर्थिन् । उनको श्रीमान रामजी गिरी रोजगारीको सिलसिलामा मलेसियामा छन् ।

सिमरास्थित पानीटंकी क्षेत्रमा ६ वर्षदेखि बस्दै आएकी उषा सोमबार मात्रै घटनास्थल नजिकको घरमा कोठा लिएर सरेकी थिईन् । पानीटंकीको कोठा छोडेर विमानस्थल नजिकको कोठामा सरेको चौथो दिनमै घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्