सिमरा बजारमा रहेको घरटहरा शनिबार हटाइँदै, यस्तो छ उपमहानगरको योजना


eShilalekh

११ जेष्ठ २०८१, शुक्रबार १९:५४

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले सिमरा बजारमा सरकारी जग्गामा बनेको घरटहरा शनिबार हटाउने भएको छ । उपमहानगरपालिकाले उक्त घरटहरा आफै खाली गर्नका लागि शुक्रबार अन्तिम पटक सूचना जारी गरेको छ ।

मुख्य चोकबाट पश्चिमतर्फ रहेको बजार क्षेत्रमा सूचना टाँस र माईकिङ गर्दै उपमहानगरपालिकाले घरटहरा र सामान हटाउन समय दिएको हो । अन्तिम पटकको सूचनामा पनि घरटहरा नहटाइए बल प्रयोग गरेर हटाईने चेतावनी समेत उपमहानगरपालिकाले दिएको छ ।

उपमहानगरपालिकाले वडा नं. २ स्थित साविकको पिप्रा सिमरा गाविसको नाममा श्रेस्ता कायम रहेको कित्ता नं. ८१६, ८३१ र ८३२ मा बनेको अस्थायी घरटहरा हटाउन लागेको हो । उक्त जग्गामा स्थानीयले घरटहरा निर्माण गरेर खाजा, नास्ताको होटल संचालन गर्दै आएका छन् ।

सरकारी जग्गामा बनेको उक्त अनधिकृत संरचना हटाउन उपमहानगरपालिकाले पटकपटक सूचना जारी गर्दै आएको थियो । तर स्थानीय व्यवसायीले उक्त निर्णयविरुद्ध उच्च अदालत वीरगन्जमा रिट दाय गरेका थिए । स्थानीय व्यवसायीले दायर गरेको उक्त रिट अदालतले खारेज गरिदिएपछि उपमहानगरपालिकालाई उक्त घरटहरा हटाउन कानुनी बाटो खुलेको हो । उपमहानगरपालिकाले शनिबार बिहानदेखि उक्त बस्ती खालाी गर्ने नगर प्रमुख राजन पौडेलले बताए ।

मुहार फेरिनेमा खुशी छौ, तर हाम्रो बारेमा सोचिएनः स्थानीय व्यवसायी

दशकौं भन्दा बढी समयदेखि अस्थायी घरटहरा बनाएर व्यवसाय गर्दै आएका व्यवसायीहरु बजारको मुहार फेरिनेमा खुशी भएपनि आफूहरुको समस्याका बारेमा उपमहानगरपालिकाले नसोचिदिएको गुनासो गर्छन् ।

बजारको मुटुमै रहेको अव्यवस्थित टहरा भत्काएर व्यवस्थित भवन बनाउने र सार्वजनिक जग्गा संरक्षण गर्ने निर्णय स्वागतयोग्य भएपनि आफूहरुले गर्दै आएको व्यवसायको उठिबास लाग्ने र परिवारको गुजारा चलाउन मुस्किल हुने व्यवसायीको भनाई छ ।

पुरानो घरटहरा भत्काएर सुविधा सम्पन्न भवन बनाउने उपमहानगरपालिकाको योजनाप्रति व्यवसायी खुशी देखिएका छन् । तर आफूहरुको समस्यालाई सम्बोधन गरेर जग्गा खाली गरिदिएको भए राहत मिल्ने तर्क व्यवसायीको छ । केही व्यवसायीले घरटहरा र सामान हटाउनका लागि केही दिनको समय समेत मागरिहेका छन् ।

तर उपमहानगरपालिकाले भने सरकारी जग्गामा अनधिकृत संरचना बनाउने नमिल्ने बताउँदै आएको छ । उपमहानगरपालिकाले यसअघि जीतपुर र फत्तेपुरको अनधिकृत संरचना भत्काइसकेको छ । सिमरा बजारपछि उपमहानगरपालिकाले अन्य वडामा बनेका अनधिकृत संरचना भत्काउने तयारी गरिरहेको छ ।

सिमराको सुन्दरता बढाउने सपिङ कम्प्लेक्स
औद्योगिक करिडोरमा अवस्थित सिमरा यतिबेला शहरोन्मुख छ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य बजारभित्र पर्ने सिमरा र यसको आसपासमा रहेको क्षेत्रको मुहार समयानुसार फेरिने क्रममा पनि छ ।

औद्योगिक नगरी मात्रै नभएर यतिबेला सिमराले आफ्नो पहिचान फराकिलो बनाउँदै लगेको छ । शहरको रुपमा विकसित हुँदै गएको सिमरालाई व्यवस्थित बनाएर लैजानुपर्ने तर्क स्थानीय र सम्बन्धित सरोकारवाला निकायको छ ।

उपमहानगरपालिकाभित्र रहेको सयौं साना तथा ठुला उद्योग, काठमाडौंसंगको छोटो दुरीमा रहेको विमानस्थल, विशेष आर्थिक क्षेत्र, पथलैया–वीरगन्ज व्यापारिक मार्ग, पर्सा राष्ट्रिय निकुञ्ज, गढीमाई, चुरियामाई मन्दिर, सुविधासम्पन्न होटल, रंगशालालगायतको संरचना र पूर्वाधारले सिमराको पहिचान बढाउँदै लगेको छ ।

बढ्दो पहिचानले शहर विकसित हुँदै गर्दा यसका चुनौती पनि उत्तिकै छ । शहरलाई व्यवस्थित बनाउनेतर्फ समयमै ध्यान दिन जरुरी देखिन्छ । न्युनतम मापदण्ड समेत नपुगी उपमहानगरपालिका घोषणा भएको जीतपुरसिमराको पूर्वाधार विकासलाई व्यवस्थित र दिगो बनाउनुपर्ने स्थानीयको भनाई छ ।

त्यसैले पनि सिमराको मुख्य बजारमा रहेको घरटहरा हटाएर व्यवस्थित सपिङ कम्प्लेक्स बनाउने योजना जीतपुरसिमराको छ । नगर विकास कोषको लगानीमा उपमहानगरपालिकाले वडा कार्यालयसहितको कम्प्लेक्स बनाउने योजना बनाएको छ । उक्त कम्प्लेक्समा व्यापारिक प्रयोजनका सटर, कोठासंगै साना, ठूला सभाहल समेत बन्नेछ । कम्प्लेक्सको बेसमेन्टमा सयौं सवारीसाधन अटाउने पार्किङस्थल निर्माण गरिने लक्ष्य उमहानगरपालिकाको छ ।

प्रतिक्रिया दिनुहोस्