मधेस प्रदेशका स्थानीय तहका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण शिविर


eShilalekh

११ जेष्ठ २०८१, शुक्रबार २०:२१

सिमराः नेकपा एमालेले मधेस प्रदेशमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि तीन दिने प्रशिक्षण शिविरको आयोजना गरेको छ । एमालेको स्थानीय विकास विभाग तथा केन्द्रीय पार्टी स्कुल विभागको आयोजनामा र मधेस प्रदेश कमिटीको व्यवस्थापनमा प्रशिक्षण शिविर शुक्रबारदेखि सुरु भएको हो ।

महोत्तरीको बर्दिबासमा आयोजित शिविरको उद्घाटन एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले गरेका थिए । शिविरको उद्घाटन गर्दै नेता पोखरेलले जनताको आवश्यकतालाई प्राथमिकता दिएर काम गर्ने निर्देशन दिए । एमालेसंग जनताको अपेक्षा धेरै रहेको भन्दै पोखरेलले जनतामुखी भएर सेवामा समर्पित हुन अनुरोध गरेका थिए ।

नेता पोखरेलले विगतको सरकार देश र जनताप्रति उत्तरदायी हुन नसकेका कारण एमालेसहितको नयाँ समिकरण बनेको बताए । एमालेले मात्रै देश र जनताको विकास गर्न सक्ने कुरा मधेससहित देशभरीका जनताले बुझिसकेको बताउँदै नेता पोखरेलले २०८४ मा मधेस अझै एमालेमय हुने दावी गरे ।

कार्यक्रममा स्थानीय विकास विभाग प्रमुख देबेन्द्र दहाल, पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, सुमराज प्याकुरेल, रामदयाल मण्डल, केन्द्रीय सदस्य रामअवतार यादव, कल्पना कटुवाललगायतको उपस्थिती रहेको थियो । मधेस प्रदेश कमिटिका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रदेश सचिव मनोज पौडेलले गरेका थिए भने उपसचिव आरती भण्डारीले स्वागत मन्तब्य राखेकी थिईन् ।

प्रशिक्षण शिविरमा स्थानिय तहको बजेट जनमुखी कसरि बनाउने, प्रणालिगत कानुनी प्रबन्ध तथा स्थानीय तहमा न्यायीक अधिकार, स्थानीय विकास, नयाँ सोच, नयाँ काम र स्थानिय तहको आर्थिक श्रोत परिचालन तथा व्यवस्थापनलगायतका विषयमा प्रशिक्षण दिइने मधेस प्रदेश कमिटीका सचिव पौडेलले जानकारी दिए । प्रशिक्षणमा बरिष्ठ उपाध्यक्ष पोखरेलसहित देबेन्द्र दहाल, तत्व तिमिल्सिना, हर्कराज राई, रामशरण प्याकुरेलले प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्