ठुलो परिमाणमा लागुऔषध सहित बाराका दुई युवक पक्राउ


eShilalekh

२९ जेष्ठ २०८१, मंगलवार १४:१७

सिमराः बाराका दुई युवकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले ठुलो परिमाणमा लागुऔषध सहित प्रक्राउ गरेको छ ।

भारत बिहार मोतीहारी जिल्ला एसएसबी क्याम्प जमुनियाका गस्ती टोलीले पिठवा गाउँ छेउ ३५७ नम्बरको सीमा स्तम्भ नजिकै बाट लागुऔषध सहित एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका ८ ककोर्वाका २५ वर्षी य ईरफान खान र सोही नगरपालिका बाँसवरिया गाउँका राजु यादव रहेको प्रहरीले जनाएको छ ।

मोटरसाईकलमा बिभिन्न किसिमका लागुऔषध इंजेक्शन, ट्याब्लेट र सिरप राखेर भारत घोडासहन बजारबाट ककोर्वा गाउँ तर्फ जानेक्रममा ईरफान लाई एसएसबीको टोलीले पक्राउ गरेको थियो ।

ईरफानले आफ्नो बयानमा घोडासहन बजार बाट लागुऔषध लगेर सिम्रौनगढ नगरपालिका बाँसवरीया गाउँमा मिठु राय यादवको छोरा राजु यादव र उनको भाई कञ्चन यादवको घरमा जमा गरेर बिस्तारै कलैया, नीजगढ, हेटौंडा देखि काठमाण्डौसम्म पुर्याउने गरेको एसएसबीले जनाएको छ ।

यसैबीच ईरफानको बयानको आधारमा घोडासहनबाट आफ्नो घर बारा सिरौनगढ बाँसवरीया तर्फ जाँदै गरेको राजु यादव लाई झरौखर थानाको टोलीले नियन्त्रणमा लिएको मोतीहारी जिल्लाका एसपी कान्तेश कुमार मिश्रले पुष्टी गरेका छन्। ।

लागुऔषध कारोबारी दुवै आरोपी जिल्ला प्रहरी कार्यालय मोतीहारी को नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्