नेपाल–भारत सीमानाकामा सरकारी परिचय पत्र देखाउन अनिवार्य


eShilalekh

१८ बैशाख २०८२, बिहीबार १६:०८

सिमराः जिल्ला प्रहरी कार्यालय पर्साले नेपाल–भारत सीमानाकामा थप निगरानी बढाएको छ ।

छिमेकी मुलुक भारतबाट नेपाल प्रवेश गर्ने शङ्कास्पद व्यक्तिको जाँचमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भारतबाट नेपाल प्रवेश गर्नेलाई सरकारी परिचय पत्र देखाउन अनिवार्य गरिएको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले जनाएका छन् । उनका अनुसार वीरगन्ज नाका भएर भारत जान वा भारतबाट नेपाल प्रवेश गर्न नागरिकता, परिचयपत्र अनिवार्य देखाउनुपर्ने नियम लागु गरिएको छ ।

भारतले पाकिस्तानी र बङ्गलादेशी नागरिकलाई देश छोड्न आदेश दिएपछि नेपालको मुख्य प्रवेशद्वारमा सुरक्षा सतर्कता बढाइएको हो ।

महानगरका सबै प्रहरी इकाइ तथा मातहतका प्रहरी चौकीहरूलाई सिमानाकाबाट प्रवेश गर्ने व्यक्तिमाथि निगरानी गर्न निर्देशन समेत दिईएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर कुनै चुक नगरी नाकामा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिइएको प्रहरी प्रमुख मिश्रले बताए ।

सीमानाकामा कडाइ गर्नका लागि प्रहरीले आफ्नो ‘स्पेसल डग’ को समेत परिचालन गरेको छ । वीरगन्जसहित ग्रामीण भेगका नाकाहरूमा व्यापक सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्