कलैयामा शिक्षा विधेयक कार्यान्वयनको मागसहित र्याली तथा कोणसभा सम्पन्न

सिमराः शिक्षामा सुधार र शिक्षा विधेयक २०८२ को तत्काल कार्यान्वयनको माग गर्दै सोमबार कलैयामा र्याली तथा कोणसभा सम्पन्न भएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला समन्वय समिति बाराको अगुवाइमा आयोजित उक्त प्रदर्शनमा सहभागीहरूले सार्वजनिक शिक्षाको सुदृढीकरणका पक्षमा स्पष्ट माग प्रस्तुत गरेका थिए । कलैयास्थित देवकी लाल धर्मशालाबाट सुरु भएको र्याली नगर परिक्रमा गर्दै भरत चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
र्याली मा सहभागीहरूले सार्वजनिक विद्यालयमा अनिवार्य अतिरिक्त क्रियाकलापको प्रवद्र्धन, प्रविधिमैत्री र रूपान्तरणकारी शिक्षा प्रणालीको विकास, आपतकालीन अवस्थामा सिकाइको निरन्तरताका लागि नीति निर्माण र पर्याप्त बजेटको माग गरेका थिए ।
यसैगरी सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई सार्वजनिक विद्यालयमा अनिवार्य रूपमा भर्ना गरिनुपर्ने, स्थानीय तथा प्रदेश सरकारले शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट सुनिश्चित गर्नुपर्ने, विद्यालयलाई बालमैत्री तथा अपाङ्गमैत्री बनाउन आवश्यक पूर्वाधार विकास गर्नुपर्ने, र प्राविधिक शिक्षाको पहुँच सबै विद्यालयसम्म पुगोस् भन्ने मागहरू १० बुँदे ज्ञापनपत्रमार्फत सार्वजनिक गरिएको थियो ।
जिल्ला संयोजक उत्तिमलाल चौरसियाको अध्यक्षतामा सम्पन्न कोणसभामा नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दास, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रामबाबु मेहता, शिक्षक फोरम बारा अध्यक्ष पारस साह लगायतले सम्बोधन गरेका थिए ।