मधेस प्रदेशमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामी


eShilalekh

२५ बैशाख २०८२, बिहीबार १८:४९

सिमराः नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु मधेस प्रदेशमा फेला परेका छन् । बिहीबार काठमाडौंमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले यस विषयमा जानकारी गराएका हुन् ।

उनका अनुसार मधेस, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको छ । सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु मधेस प्रदेशमा देखिएका छन् । मधेस प्रदेशमा कुल केसको एक तिहाई भन्दा बढी रहेका छन् ।

दोस्रो सबैभन्दा बढी केसहरु लुम्बिनी प्रदेशमा रहेका छन् । जहाँ कुल केसको एक चौथाई भन्दा बढी रोगीहरु रहेको सचिव डा. देवकोटाले बताए । आर्थिक वर्ष २०८० र ०८१ को अन्त्यसम्म नयाँ फेला परेका दुई हजार चार सय ७२ कुष्ठरोगीहरुमध्ये महिलाको संख्या १ हजार ४२ रहेको छ । १४ वर्ष मुनिका नयाँ बिरामीको संख्या एक सय ३६ रहेको उनको भनाइ छ ।

सचिव देवकोटाले पहिचान रहेका सबै कुष्ठरोगका बिरामीहरु उपचाररत रहेको बताए । उनका अनुसार कुष्ठरोग निवारणका लागि रोगको प्रकोप दर एक भन्दा कम हुनुपर्छ ।

प्रति १० हजार जनसंख्यामा एक जना भन्दा कम व्यक्ति रोगी रहेको अवस्था हुनुपर्छ । आर्थिक वर्ष २०८० र ०८१ को तथ्यांकलाई विश्लेषण गर्दा कुष्ठरोगको प्रकोपदर राष्ट्रिय तहमा १ भन्दा कम (०.९२ प्रतिशत) रहेको छ ।

तर जिल्ला तहको प्रकोप दर हेर्दा ७७ जिल्लामध्ये १८ जिल्लामा १ भन्दा माथि, ४८ जिल्लामा १ भन्दा कम, ११ जिल्लामा कुष्ठरोगका कुनैपनि नयाँ बिरामी फेला परेका छैनन् । मधेस, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्