पर्साको बहुदरमाईमा आगलागी हुँदा लाखौंको क्षती

सिमराः पर्साको बहुदरमाई नगरपालिका ८ रामनगरीमा आईतबार दिउँसो आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
स्थानीय तुलसी राउत अहिरको घरमा आगलागीबाट उनको फुसको छानो भएको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।आगलागीबाट राउतको धानको भकारी जलेर खरानी भएको छ भने उनको गोठमा रहेको भैँसी समेत घाइते भएको छ । घाइते भैँसीको अवस्था गम्भीर रहेको छ ।

यसैगरी सोही स्थानका हरिन्द्र यादवको फुसको छानो भएको घर र उनको धानको भकारी पनि आगलागीमा जलेर पूर्ण रूपमा नष्ट भएको छ । यसैगरी स्थानीय नन्दु रामको धानको भकारीमा समेत ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आगलागीका कारण झन्डै ६ लाख रुपैयाँ बराबरको सम्पति नष्ट भएको अनुमान गरिएको छ । प्रहरीका अनुसार आगलागीको मुख्य कारण विद्युतको तारमा सर्ट सर्किट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटनापछि स्थानीयवासी र प्रहरीले आगलागी नियन्त्रणको प्रयास गरे पनि फुसको छानो र सुख्खा मौसमका कारण आगो छिट्टै फैलिएको थियो । नजिकै दमकलको सुविधा नहुँदा आगो नियन्त्रणमा ढिलाइ भएको स्थानीयले बताएका छन् ।
आगलागीबाट पीडित परिवारहरूले तत्काल राहत र क्षतिपूर्तिको माग गरेका छन् ।