विवादको दलदलमा सिम्रौनगढ नगरपालिका, सेवा ठप्प


eShilalekh

३० बैशाख २०८२, मंगलवार १३:५२

सिमराः बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवालमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिम्रौनगढका स्थानीय सनफी यादव रहेका छन् ।

यादव सिम्रौनगढका नगर प्रमुख किशोरी साह कलवारका सहयोगी रहेको बताइएको छ । प्रहरीले उनलाई केहीदिन अघि काठमाडौंको सिंहदरबार परिसरबाट नियन्त्रणमा लिएको हो । यादवलाई बारा ल्याएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

आफूमाथि हातपात भएको भन्दै सिम्रौनगढका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवालले नगर प्रमुख कलवार, नगरसभा सदस्य दीपेन्द्र गुप्ता र सहयोगी सनफी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । जयसवालको उजुरीको आधारमा प्रहरीले यादवलाई पक्राउ गरेको हो ।

शिर्षक नभएको योजनाको भुक्तानी दिन नमानेको भन्दै नगर प्रमुख कलवारसहितका सहयोगीले आफुलाई घरमै बोलाएर कुटपिट गरेको जैसवालको आरोप छ ।

गत मंसिरमा सम्पन्न विश्वप्रसिद्ध महागढीमाई मेलाका लागि छुट्टाइएको १० लाख रकम भुक्तानी गर्नुपर्नेमा नगर प्रमुखले २७ लाख भुक्तानी गर्न दवाव दिएको जयसवालले बताएका छन् । यसैगरी कार्यपालिकाको निर्णय नभई वृक्षरोपण शिर्षकमा १५ लाख, सिम्रौनगढ ऐतिहासिक समारोह शिर्षकमा १० लाख, बाटो सरसफाइमा १९ लाख भुक्तानी गर्न नगर प्रमुख करवाले दिएको दवाव आफूले अस्विकार गरेपछि कुटपिट भएको जयसवालले बताउँदै आएका छन् ।

बैशाख १६ गते भएको उक्त घटनापछि नगरपालिकाको सेवा पूर्णरुपमा ठप्प छ । जनप्रतिनिधि र कर्मचारीको विवादका कारण नगरपालिकाको अधिकांश सेवा बन्द छ ।

सिम्रौनगढ नगरपालिकामा विवाद भएको यो पहिलो पटक होइन् । नगरपालिकामा यसअघि पटकपटक विवाद हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्