‘जहाँ खाली, त्यहाँ हरियाली’ भन्ने नाराका साथ वीरगन्जमा वृक्षारोपण कार्यक्रम सम्पन्न

वीरगन्जः हरित र स्वच्छ शहर निर्माणको लक्ष्यसहित वीरगन्जमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । ‘सफा, हरित र वैभव वीरगन्ज महा–अभियान अन्तर्गत’ ‘जहाँ खाली, त्यहाँ हरियाली’ भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम बीरगन्ज महानगरपालिका, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरको संयुक्त समन्वयमा सम्पन्न गरिएको हो ।
ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न जातका करिब एक सय ५० बिरुवाहरू रोपिएको छ । कार्यक्रममा बीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह प्रमुख अतिथिको रूपमा सहभागी थिए ।
नगरप्रमुख सिंहले वातावरण संरक्षणको जिम्मेवारी सबै नागरिकको भएको उल्लेख गर्दै खाली जमिनमा हरियाली फैलाउन सामूहिक प्रयासको आवश्यकता रहेको औँल्याए । उनले वृक्षारोपण जस्ता अभियानमार्फत भविष्यका पुस्तालाई सुरक्षित र स्वच्छ वातावरण हस्तान्तरण गर्न सकिने विश्वास व्यक्त गरे ।
वृक्षारोपण कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, नागरिक समाजका प्रतिनिधि, सुरक्षाकर्मी, समाजसेवी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।