विदेशमा बिरामी परेका नागरिकलाई नेपाल फर्काउन सांसद साहले गरिन् अनुरोध

सिमराः बारा क्षेत्र नं. ३ की सांसद एवम् पूर्वमन्त्री ज्वालाकुमारी साहले कतारमा गम्भीर बिरामी रहेका बाराका एक नागरिकलाई स्वदेश फर्काउन सरकारसँग आग्रह गरेकी छन् ।
बाराको फेटा गाउँपालिका वडा नम्बर ७ गमहरियाका समसुल मिया अंसारी विगत चार महिनादेखि अल कुवान अस्पतालको शैयामा मृत्युसँग लडिरहेको भन्दै साहले नेपाल फर्काउन अनुरोध गरेकी हुन् । सांसद साहले प्रतिनिधिसभाको बैठकमा बोल्दै संसद र सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
कतारको कमिला ट्रेडिङ एण्ड ट्रान्सपोर्ट कम्पनीमा कार्यरत अंसारीलाई कतार सरकारसँग समन्वय गरी यथाशीघ्र नेपाल फर्काई परिवारको जिम्मा लगाउनका निम्ति पहल गर्न साहले आग्रह गरेकी हुन् ।