पथलैयास्थित सशस्त्र प्रहरीको प्राविधिक शिक्षालयद्धारा रक्तदान र दन्त शिविरको आयोजना

सिमराः छैठौं स्थापना दिवसको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल प्राविधिक शिक्षालयले आइतबार पथलैयामा निःशुल्क दन्त शिविर र रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
शिक्षालय परिसरमा आयोजित दन्त शिविरमा ८६ जनाको दाँत परीक्षण गरिएको थियो भने रक्तदान कार्यक्रममा २८ जनाले रगत दान गरेका थिए ।
दन्त शिविरलाई जीतपुरस्थित एनी डेण्टल सेवाले प्राविधिक सहयोग गरेको थियो । रक्तदान कार्यक्रमलाई रेडक्रस सोसाइटी वीरगन्ज र रक्तसंचार केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।
स्थापना दिवसको अवसर पारेर विभिन्न रचनात्मक काम गरिरहेको शिक्षालयले यसअघि पथलैयामा बजार र भिमेश्वर मन्दिर सरसफाइ गर्नुका साथै खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो । शिक्षालयले जेठ १३ गते विशेष समारोहकाबीच साताव्यापी कार्यक्रमको समापन गर्ने तयारी गरिरहेको छ ।

उक्त समारोहमा प्राविधिकतर्फका सशस्त्र प्रहरी नायब महानिरीक्षक सन्दीप थापा प्रमुख अतिथिको रुपमा उपस्थित हुने भएका छन् । साताव्यापी समापन समारोहलाई उत्साहजनकरुपमा सम्पन्न गर्ने गरी तयारी भईरहेको सशस्त्र प्रहरी उपरीक्षक इन्जिनियर सञ्जयकुमार मण्डलले जानकारी दिएका छन् ।
यसअघि सशस्त्र प्रहरी बल रुद्र बाहिनीको कार्यालय रहेको स्थानमा हाल प्राविधिक शिक्षालय राखिएको छ । उक्त शिक्षालयले सशस्त्र प्रहरीको प्राविधिक जनशक्ति उत्पादन गरिरहेको छ ।
प्रहरी नायब उपरीक्षक मण्डलले बम डिष्पोज, कम्प्युटर तथा संचार, सबै किसिमका सवारी चालकलगायत विभिन्न प्राविधिक जनशक्ति उत्पादनका लागि तालिम संचालन भईरहेको बताए । दक्ष जनशक्तिसहितको व्यवस्थित प्रहरी संगठन बनाउने हेतुले स्थापना गरिएको प्राविधिक शिक्षालयले प्रभावकारी ढंगले काम गरिरहेको मण्डलको भनाई छ ।
प्राविधिक शिक्षालय स्थापनाको ६ वर्ष पूरा गरेको सशस्त्र प्रहरी बलको संगठन भने २०५७ माघ ९ गते स्थापना भएको थियो ।