सडकमा जुधिरहेका साँढेसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु

सिमराः जनकपुरको सडकमा दुई साँढेबीचको लडाइँका कारण स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका ७ का ५० वर्षीय सत्तार राइन रहेका छन् ।
जनकपुरधाम–६ पेठियाबजारबाट प्रादेशिक अस्पतालतर्फ गइरहेको मधेश प्रदेश ०२–००७ प ९२६६ नम्बरको स्कुटर सडकमा जुधिरहेका साँढेसँग ठोक्किँदा राइन गम्भीर घाइते भएका थिए ।
उनलाई तत्कालै नजिकैको जानकी हेल्थ केयरमा उपचारका लागि लगिएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले जानकारी दिए ।