कांग्रेस नेता आलमले पाए उच्च अदालत वीरगञ्जबाट सफाइ


eShilalekh

१४ जेष्ठ २०८२, बुधबार १८:५९

वीरगन्जः बम विस्फोट गराई पाँच व्यक्तिको हत्या गरेको अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय सुनाइएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालत वीरगञ्जले सफाइ दिएको छ ।

उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमसहित अन्य तीन जनालाई सफाइ दिएको हो ।

यसअघि २०८१ साल वैशाख १३ गते रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो । उक्त फैसलामा उनलाई २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटपछि घाइते भएका पाँच जनालाई इँटाभट्टामा हालेर हत्या गरेको ठहर गरिएको थियो ।

आरोप अनुसार पहिलो संविधानसभा निर्वाचनको तयारी भइरहेका बेला आलमले आफ्ना कार्यकर्तालाई बम बनाउन लगाएको र विस्फोट हुँदा घाइते भएका व्यक्तिहरूलाई उपचार गर्न नलगेर उल्टै अपराध लुकाउन उनीहरूलाई इँटाभट्टामा जिउँदै हालेर मारिएको भनिएको थियो ।

उक्त घटनामा संलग्न भएको अभियोगमा आलमलाई २०७६ साल असोजमा प्रहरीले पक्राउ गरेको थियो । लामो अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको थियो ।

सोही प्रकरणमा आलमसँगै उनका भाइ मोहम्मद मोहताब आलम, सेख सराज र इँटाभट्टाका मुनसी बद्री सहनीमाथि समेत सोही प्रकृतिको अभियोगमा मुद्दा चलाइएको थियो। जिल्ला अदालतले चारै जनालाई जन्मकैदको सजाय सुनाएको थियो । उच्च अदालतको पछिल्लो फैसलाले घटनालाई नयाँ मोडमा ल्याएको छ भने आदेशलाई लिएर टिकाटिप्पणी गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्