कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कारबाट ‘देवकोटा’ सम्मानित

सिमराः प्रेस सेन्टर नेपाल पर्सा शाखाले बिहिबार कृष्ण सेन ‘इच्छुक’ को २३औँ स्मृति दिवसको अवसरमा दुई पत्रकारलाई पुरस्कृत गरेको छ ।
पत्रकार गोविन्द देवकोटालाई ‘कृष्ण सेन स्मृति सम्मान’ र रितेन्द्र झा (रितेश झा) लाई ‘प्रेस सेन्टर नेपाल क्रियाशील पत्रकारिता पुरस्कार’ बाट जनही रु २१ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको हो ।
पर्सामा क्रान्तिकारी पत्रकार संघ स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको र जनपक्षीय पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकोमा पुरस्कार छनोट समितिले गोविन्द देवकोटालाई छनोट गरी सम्मान गरेको हो ।
यसैगरी रितेन्द्र झा (रितेश झा) लाई प्रेस सेन्टर पर्सामा आबद्ध भई संस्था निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र जनपक्षीय पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकोमा पुरस्कृत गरिएको प्रेस सेन्टर नेपाल पर्साका सचिव अजित कुमार भुजेलले जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व विश्व पत्रकार महासंघ एशियाका सहसचिव दीपेन्द्र चौहान, पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोज केसी लामिछाने, प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष नीरज पिठाकोटे मगर, पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम लगायतले मन्तव्य राखेका थिए ।
प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण समारोहमा नेपाल पत्रकार महासंघ मधेस प्रदेश सचिव दीपक गौतम, होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साका अध्यक्ष हरि पन्त, उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष रचिन्द्र थापा, सशस्त्र प्रहरी बल नेपाल पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंह, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र लगायतको उपस्थिति रहेको थियो ।