वीरगन्ज महानगरपालिकाका प्रमुख सिंहद्धारा स्वास्थ्यमन्त्री पौडेललाई ज्ञापन


eShilalekh

२० जेष्ठ २०८२, मंगलवार १६:५०

वीरगन्जः नारायणी अस्पतालको आइसियु र सिसियु वार्डमा करिब तीन घण्टासम्म विद्युत सेवा अवरुद्ध भएर बिरामीहरूको उपचार प्रभावित भएको घटनाबारे वीरगन्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

मेयर सिंहले मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाउँदै उक्त माग अघि सारेका हुन् । स्वास्थ्य मन्त्रीसंगको भेटमा खानेपानी मन्त्री तथा पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव पनि उपस्थित थिए ।

गत शुक्रबार राति अस्पतालको आइसियु र सिसिसियु वार्डमा विद्युत सर्किट सर्ट भई करिब तीन घण्टा विद्युत सेवा अवरुद्ध भएको थियो । सो समयमा १७ जना बिरामी उपचाररत थिए । अस्पतालका कर्मचारीको लापरबाहीले घटना भएको भन्दै मेयर सिंहले दोषीको जिम्मेवारी सुनिश्चित गर्न सरकारसंग माग गरेका हुन् ।

सिंहले घटनाको तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न, दोषी जिम्मेवार अधिकारी तथा कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाउन, सम्पूर्ण सरकारी अस्पतालमा आकस्मिक अवस्थाको तयारी (विद्युत ब्याकअप, जेनेरेटर परीक्षण, स्टाफ तालिम आदि) अनिवार्य बनाउन, प्रभावित बिरामीहरूको अवस्था तथा उपचार विवरण सार्वजनिक गर्न माग गरेका छन् । उनले नारायणी अस्पतालमा भौतिक पूर्वाधारको अभाव र स्वास्थ्यकर्मीको लापरबाहीले प्रभावकारी ढंगले नियमित सेवा सञ्चालन हुन नसकेको उल्लेख गर्दै सुधारका लागि नीतिगत पहल आवश्यक रहेको ध्यानाकर्षण गराएका छन् ।

यसअघि गत शनिबार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा बसेको बैठकले अस्पतालका इलेक्ट्रिसियन इन्चार्ज सञ्जीव गुप्तालाई निलम्बन गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्