वीरगन्जमा ‘भविष्य मेला २०२५‘ हुने, एसइई परीक्षार्थीका लागि सुनौलो मञ्च

वीरगन्जः बारा, पर्सा, रौतहट र आसपासका जिल्लाका एसइई परीक्षार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी वीरगञ्जमा शैक्षिक तथा करियर मेला ‘भविष्य मेला २०२५’ आयोजना हुने भएको छ ।
जेठ ३० गते शुक्रवार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म एक दिने मेला आयोजना हुने भएको हो । मेला माध्यमिक शिक्षा परीक्षा (एसइई) पछिका शैक्षिक र करियर सम्भावनाबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।
मेलाले तीन हजारभन्दा बढी विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष रूपमा जोड्ने अपेक्षा गरिएको छ । कार्यक्रम निर्देशक नवीन कार्कीले भविष्य मेला केवल प्रदर्शनी मात्र नभई भविष्य निर्माणको लागि आवश्यक जानकारी, मार्गदर्शन र सहायताको एक परिवर्तनकारी मञ्च भएको बताए ।
‘यो मेला शैक्षिक जागरूकता, समान अवसर र स्थानीय युवालाई आत्मनिर्भर बनाउने दिशामा एक ठोस कदम हो’ कार्कीले भने ‘मेलाले विद्यार्थीलाई विज्ञान, व्यवस्थापन, इन्जिनियरिङ, चिकित्सा, कानुन, पत्रकारिता, व्यावसायिक शिक्षा लगायत विभिन्न शैक्षिक धाराहरूका बारेमा जानकारी दिनेछ ।’
मेलामा विभिन्न शैक्षिक संस्थाहरूले आफ्ना कार्यक्रम, छात्रवृत्ति योजना, सुविधा, अन्तर्राष्ट्रिय साझेदारी र उद्योगसँगको सहकार्यबारे प्रत्यक्ष जानकारी दिनेछन् । मेलामा निःशुल्क डिम्याट खाता, बैंक खाता, आँखा जाँच, सिम कार्ड वितरण, छात्रवृत्ति, स्टेशनरी किट, शैक्षिक किताब र टेक ग्याजेटजस्ता सामग्री पनि विद्यार्थीलाई प्रदान गरिनेछ ।
‘भविष्य मेला २०२५’ मा सहभागी हुन विद्यार्थी, अभिभावक, शैक्षिक संस्था तथा स्थानीय व्यवसायलाई आग्रह गरेको छ । मेलाले वीरगञ्जलाई एक क्षेत्रीय शैक्षिक केन्द्रको रूपमा स्थापित गर्ने विश्वास आयोजकको छ ।